२०८१ बैशाख ३ सोमबार

विश्व बैंकको ऋणको पैसामा करोडौं घोटाला

विश्व बैंकले कोभिड नियन्त्रणका लागि इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेस प्रोजेक्टका रूपमा नेपाललाई ५ अर्ब रुपैयाँ आर्थिक ऋण दिएमध्ये स्वास्थ्यसेवा विभागले पाएको बजेटमा चर्को अनियमितता हुने भएको छ ।

नेपालले ब्याज तिरेर लिएको ५ अर्ब ऋणमध्ये स्वास्थ्य सामग्री, औजार तथा उपकरण खरिदका नाममा स्वास्थ्य सेवा विभागले २ अर्ब ४२ करोड रुपैयाँ पाएको थियो । सो कर्जाबाट विभागले गर्न लागेको अल्ट्रासाउन्ड खरिद, थर्माकोगुलेटेड, एक्स–रे विथ डीआर, सि–आर्म र इन्डोस्कोपिक अल्ट्रासाउन्ड खरिदमा भ्रष्टाचार हुन लागेको हो ।

मिलेमतो र सेटिङमा मेडिकल उपकरण खरिद गरिँदै

स्वास्थ्य क्षेत्रका शक्तिशाली ठेकेदारका रूपमा परिचित विशाल पण्डितसँगको मिलेमतोमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्र चौरासियालगायतसँग सेटिङमा भ्रष्टाचार गर्न लागिएको उच्च स्रोतले जनाएको छ । पण्डित नेपालमा फिलिप्स कम्पनीको स्वास्थ्य उपकरण बेच्ने व्यापारी हुन् ।

विभागले ४ माघ २०८० सालमा आह्वान गरेको ५० सेट ‘फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर’ को २६ करोडमा खरिद गर्नेगरी आह्वान टेन्डरमा डिक्टेर र प्रिन्टरको ठेक्का पण्डितले पाउने निश्चित भएको छ । अन्य आपूर्तिकर्ता १६ करोड दिन तयार हुँदाहुँदै विभागले पण्डितसँग सेटिङ गरेर यो मेसिन २५ करोडमा खरिद गर्ने तयारी गरेको छ । एउटा हाइफ्रिक्वेन्सी एक्स–रेको मूल्य करिब १६ लाख, डिटेक्टरको १२ लाख र प्रिन्टरको ४ लाख पर्छ तर विभागले पण्डितसँग करिब ५२ लाखमा खरिद गर्ने गरी सेटिङ मिलाएको छ । पण्डितले दक्षिण कोरियाको पिक्सजेन कम्पनीबाट डिटेक्टर ल्याइदिने गरी र अर्का मेडिकल व्यवसायी उमेश शर्माले भारतको एलेन्जर कम्पनीबाट एक्स–रे ल्याइदिने गरी सेटिङ मिलाएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र आपूर्तिकर्ताबीच मिलेमतोमा स्वास्थ्य उपकरण बजारको मूल्यभन्दा दोब्बरमा किनिँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले साउन यता खुलाएको अधिकांश ठूला रकमका टेन्डरमा करोडौंको घोटाला भइरहेको आरोप लागेको छ । सार्वजनिक खरिद ऐनलाई नाटकीय हिसाबले मिलान गरी कुन सामग्रीको ठेक्का कुन कम्पनीलाई दिने पहिल्यै निश्चित गरेर टेन्डर आह्वान गरिएको पाइएको छ । टेन्डरको स्पेसिफिकेसन आफूले चाहेको कम्पनीबाहेक अन्यले ठेक्का पाउनै नसक्ने गरी स्पेसिफिकेसन लक्ड गरेर बनाएको पाइएको छ ।

गत २६ माघमा आह्वान भएको अल्ट्रासाउन्ड मेसिन टेन्डरमा ठेक्का आपूर्तिकर्ता विमल उप्रेतीको म्याक्स मेडिटेकले पाएको छ । २ सय संख्यामा माग भएको अल्ट्रासाउन्डलाई बजारमा १६ करोड मात्रै पर्छ, तर विभागसँगको सेटिङमा उपे्रेतीले ३० करोडमा सो ठेक्का पाएका छन् ।

यसैगरी विभागले आपूर्तिकर्ता मुकुन्द गौतमलाई ८ करोड बढी रकम दिएर बजारमा थर्माकोगुलेटेडको ठेक्का दिएको पाइएको छ । बजारमा करिब १० करोड पर्ने थर्माकोगुलेटेडलाई १८ करोड रुपैयाँमा ठेक्का दिइएकोे छ ।

यसैगरी, ठूलाठूला बजेटमा रहेका एक्स–रे विथ डीआर, सी–आर्म र इन्डोस्कोपिक अल्ट्रासाउन्डमा पनि करोडांैको सेटिङमा कसले पाउने पक्का भइसकेको मेडिकल उपकरण आपूर्तिकर्ताहरू बताउँछन् ।

४ माघ २०८० सालमा आह्वान भएको ५० सेट ‘फिक्सड एक्स–रे ५०० एमए विथ डिटेक्टर’को २६ करोडमा खरिद गर्नेगरी टेन्डर आह्वान गरिएको छ । जबकी, एउटा हाइफ्रिक्वेन्सि एक्स–रेको मूल्य करिब १६ लाख, डिटेक्टरको १२ लाख र प्रिन्टरको चार लाख पर्छ ।

तीनवटैको मूल्य जोड्दा कुल ३२ लाख पर्ने भए पनि विभागले करिब ५२ लाखमा खरिद गर्दै छ । यसरी जम्मा १६ करोडमा खरिद गर्न सकिने ५० सेट एक्स रे विथ डीआर मेसिनलाई विभागले २६ करोडमा खरिद गर्दै छ । स्पेसिफिकेसन लक्ड भएका कारण यो ठेक्का मेडिकल व्यवसायी उमेश शर्मा र विशाल पण्डितले पाउने करिब–करिब निश्चित भइसकेको छ । शर्माले भारतको एलेन्जर कम्पनीबाट एक्स–रे ल्याइदिने पण्डितले दक्षिण कोरियाको पिक्सजेन कम्पनीबाट डिटेक्टर ल्याइदिनेगरी टेन्डर प्रस्तावको तयारी रहेको बुझिएको छ ।

तीन वर्षमा दुईवटा खरिद सम्झौतामा कम्तीमा १७ करोडको कारोबार गरेको हुनुपर्ने सर्त राखिएकाले समेत यो मेसिनको खरिदमा विशेष गरी नयाँ सप्लायर्सले टेन्डर नै प्रस्ताव गर्न नसक्ने प्रावधान घुसाइएको देखिएको छ । आजको राजधानी दैनिकमा खबर छ । 

२०८० फाल्गुन २३, बुधबार प्रकाशित 0 Minutes 93 Views

ताजा समाचार