२०८१ बैशाख २१ शुक्रबार

समस्या समाधानमा सबैको सहयोग आवश्यक छ : नगरप्रमुख बुढाथोकी, काँकरभिट्टाको ‘ट्राफिक जाम’ हटाउन अभियान तीव्र

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा उत्पन्न ‘ट्राफिक जाम’ अन्त्य गर्न मेचीनगर यातायात व्यवस्थापन समितिले पहलकदमी लिएर अभियानलाई तीव्रता दिएको छ ।

मेचीनगर नगरपालिकाद्धारा गठित समितिले काँकरभिट्टा क्षेत्रमा यत्रतत्र गुड्ने सयौं सवारी साधनका कारण देखिएको भद्रगोल अवस्था साम्य पार्न चरणवद्ध कार्यक्रम गर्दै आएको छ ।

समितिले मंगलवार मेची सामुदायिक सेवा केन्द्रको समन्वयमा सिटी रिक्सा र यातायात व्यवस्थापनबारे सरोकारवालासँग सर्वपक्षीय अन्तक्र्रिया गरेको हो ।

केन्द्रको सभाहलमा भएको छलफलले सिटी रिक्सा नियमनको काम, खाली रिक्सा लिएर मेची पुलतर्फ जान नपाइनेलगायतका निर्णय गरी कार्यान्वयनतर्फ अघि बढेको समितिका अध्यक्ष डिल्लीराम घिमिरेले बताए ।

उनका अनुसार पैदल यात्रीलाई सहजरुपमा हिंड्डुल गर्ने वातावरण मिलाउन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले थालिएको सिटी रिक्सा व्यवस्थापनको अभियानलाई निरन्तरता दिइने छ ।

छलफलले इ–रिक्सा सञ्चालन गर्न लाइसेन्स र बिलबुक अनिवार्य हुनुपर्ने, सीमावर्ती भारतीय बजार पानीट्यांकीबाट नेपाल आएका भन्सार गर्नुपर्ने सामग्रीसहितका ई–रिक्साहरुले यात्रु शाखा हुँदै उत्तरतर्फको गेटबाट बस पार्क पूर्वपट्टिको क्षेत्रमा यात्रु ओराल्नुपर्ने व्यवस्था गरेको समितिका सचिव माधव अर्यालले बताए ।

छलफलका क्रममा यात्रु मात्र लिएर आउने ई–रिक्साहरुले भन्सार गेटबाट हनुमान मन्दिर अगाडि ओरालेर यात्रु तोकिएको स्टेण्डमा जाने व्यवस्था मिलाइएको उनले बताए ।

छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालयका डिएसपी दीपक भारती, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, मेचीनगर यातायात व्यवस्थापन समिति अन्तर्गतको उपसमितिका संयोजक किरण तामाङ, राजकुमार सुवेदी, संयुक्त ई–रिक्सा व्यवस्थापन समितिका संयोजक गणेश चौहान, होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल टुर्स एण्ड ट्राभल्स संघ कोशी प्रदेशका उपाध्यक्ष सजित तामाङ, काँकरभिट्टा बजार व्यवस्थापन समितिका संयोजक राम तामाङ, व्यवसायी दिलकुमार तामाङलगायतको उपस्थिति थियो ।

त्यसक्रममा उनीहरुले यस क्षेत्रको समसामयिक समस्या र त्यसको समाधानका बारेमा आफ्ना धारणा राखेका थिए ।

समितिले यसअघि प्यारिभिट्टा बस पार्क सञ्चालन र व्यवस्थापन गर्न शुरु गरी त्यसपछि काँकरभिट्टा बस टर्मिनलमा ढाट लगाएर आलोपालो प्रणाली लागू गरेको समितिका उपाध्यक्ष सुरेन्द्र बुढाथोकीले बताए । उनका अनुसार समितिले चाँडै नै समय तालिकाका आधारमा बस सञ्चालन गर्ने व्यवस्था गर्नेछ ।

अब साना सवारी साधनहरु अटोलगायतको व्यवस्थापन गर्ने आगामी कार्ययोजना रहेको समितिले जनाएको छ । त्यसक्रममा नगरप्रमुख बुढाथोकीले यहाँका समस्या समाधान गर्न सबै क्षेत्रको महत्वपूर्ण सुझाव र सहयोगको आवश्यकता औंल्याउँदै स्थानीय तहले सरोकारवालासँग छलफल गर्ने कार्यको व्यवस्थापन गर्ने बताए ।

उनले भने, ‘समस्यासँग कहीं न कहीं हामी सबै जोडिएका छौं, त्यसकारण पनि समाधानमा सबैको सहकार्य आवश्यक छ ।’

२०८० फाल्गुन २२, मंगलवार प्रकाशित 0 Minutes 259 Views

ताजा समाचार