काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार छान्ने भएको छ ।
पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार १५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउन लागिएको हो । ‘त्यहाँ उम्मेदवार आदिवासी जनजातिबाट नै हुन्छ’, उनले भने, ‘स्थानीयलाई उम्मेदवार बनाउँछौं ।’
रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर टुंगो लगाउने उनले बताए । रास्वपाले छ पालिकामा सांसद पठाएर स्थानीय मतदातासँग छलफल गरेको थियो ।
६ सांसदले ल्याएको प्रतिवेदनमा छलफल गर्ने र उम्मेदवारको छनौट गर्ने काम नयाँ सत्ता समीकरणका कारण ढिलो भएको झाले बताए । रास्वपाका नेताहरुले मंगलवारसम्म उम्मेदवारको मोटामोटी टुंगो लाग्ने बताएका थिए ।
रास्वपाले चुनावी तयारीका लागि क्षेत्रमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाएको छ । अनलाइन खबर