
काठमाडौँ- चितवन रत्ननगरस्थित एक विद्यालयको होस्टेलमा एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको घटनामा उक्त विद्यालयका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो। उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन्। प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।
सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले यी जनाबिरुद्ध किटानी जाहेरी दिएका थिए। चितवन प्रहरीका अनुसार परिवारजनको जाहेरीपछि ती तीनलाई पक्राउ गरिएको हो।