काँकरभिट्टा । नेपाली साहित्य जगतका उज्ज्वल नक्षत्र लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालीक काँकरभिट्टाको मध्य भागमा उभ्याइएको छ ।
सम्भवतः देशभरमै महाकवि देवकोटाको यो पहिलो पूर्णकदको शालीक हुनुपर्छ । पूर्वको सीमावर्ती शहर काँकरभिट्टाको मध्यभागमा राखिएको शालीक परिसरलाई महाकवि देवकोटाको नामबाट नामकरण गरिएको छ । पार्कले ओगटेको करिब ११ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा छ ।
सो जग्गा प्रयोजनका लागि विगतमा विभिन्न समूहबाट त्यसको संरक्षण र व्यक्तिगत प्रयोजनका लागि प्रयास नभएका होइनन् । अन्ततः व्यक्तिगतरुपमा प्रयोजन गर्ने समूहले हार खाएपछि यो पार्क संस्थागत संरक्षणमा आएको हो ।
पार्कको निर्माणसँगै व्यवस्थित गर्न गठित समितिको अग्रसरतामा भएका साहित्यिक गतिविधिले देशकै पूर्वी सीमान्त शहर काँकरभिट्टालाई साहित्यिक शहरको रुपमा पनि परिचित गराउन टेवा पुर्याएको छ ।
पछिल्लोसमय स्थानीय तह र प्रदेश सरकारको आर्थिक सहयोग तथा देवकोटा पार्क व्यवस्थापन समितिको समन्वयमा समितिका तत्कालीन अध्यक्ष गणेश खरेल नेतृत्वको समितिले भौतिक संरचना निर्माण गरेको छ ।
पार्क परिसरमा हावा घर, चमेना गृह र पुस्तकालय भवन, शौचालय, पैदलयात्रीका लागि वरिपरि ब्लक राखेर बनाइएको फुटपाथ, उत्तर, दक्षिण र पश्चिमतर्फ पक्की घेराबारा निर्माणले पार्कको सौन्दयर्ता बढाएको छ ।
त्यस्तै, बालबालिकाका लागि चिप्लेटी, पिङ, ढिकिच्याउलगायत व्यवस्था गरिएको छ भने पार्क परिसर बाहिर सडकका दुई छेउमा फलामको घेराबारा गरी आकर्षक मनमोहक बनाउन धुपीका बिरुवा रोपिएको छ भने उत्तरपट्टि रहेको सार्वजनिक शौचालय हटाएर त्यहाँ वृक्षारोपण गरिएको छ ।
केही दिनअघिको भेलाले बालकृष्ण थापाको अध्यक्षतामा देवकोटा पार्कको ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । नवगठित समितिले पार्क सञ्चालनका लागि केही नयाँ योजना सार्वजनिक गरेको छ ।
पार्कको रेखदेखका लागि २ जना अस्थायी कर्मचारी (माली) करारमा नियुक्ति गरिएको र पार्क प्रवेशका लागि २० रुपैयाँ टिकट दर तोकिएको अध्यक्ष थापाले बताए ।
लामोसमयदेखि स्थानीय तहले मेचीनगरभित्र रहेका सार्वजनिक सरोकार राख्ने कयौं धार्मिकस्थल, पार्क, सामुदायिक भवनलगायत भौतिक संरचनाको संरक्षणका लागि निर्माण गरिएका स्थानहरुको आधिकारीक समिति गठन गर्न सकेको छैन ।