२०८१ बैशाख १६ आईतवार

एउटै गोत्रमा विवाह किन हुँदैन ?

अमेरिकाबाट नेपाली राशिफल

सनातन परम्पराको लामो इतिहास छ। यो परम्परा जति लामो छ, त्यतिकै यसको सु्न्दर सभ्य संस्कृति पनि छ। यो सुसंस्कृत परम्परामा विभिन्न भाषा, शिल्प, विद्या, कला, साहित्य, संस्कृतिको विकास भएको देखिन्छ।

सम्पूर्णपक्षको प्रभाव र प्रयोगले नै समाजको निर्माण भएको हो। यिनै कला, शिल्प, विद्या र संस्कृतिले सभ्य मानव भन्ने परिभाषालाई पुष्टि गरेको छ। यही परम्पराभित्रको विवाह एक पवित्र सम्बन्ध हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछ।

वर र वधूको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थजीवनको परिभाषा पुष्टि हुन्छ। विवाहपछि सकारात्मक सोच, सकारात्मक विचार र अभिव्यक्तिका साथ एकआपसको आत्मीयता रीतिस्थिति, रहनसहन, प्रेमभावले सुन्दर गृहस्थ चल्दछ।

सुन्दर गृहस्थजीवनका लागि एउटै वर्णमा विवाह गर्ने विधान गरिएको छ। वैदिक धर्मशास्त्रमा स्वगोत्रीय विवाह गर्नुहुदैन भन्ने वचनहरू प्रशस्त रूपमा पाइन्छन्। एउटै गोत्रमा नाता र स्वभाव, गुण, धर्म र रगतको नाता एउटै ऋषिको रहेको हुनाले एउटै गोत्रमा विवाह गर्न निषेध गरिएको हो।

रगतको नाताअन्तर्गत रक्तसमूहभित्र बहने स्वगोत्रीय ऋषिको शक्ति सञ्चालित हुने भएकाले एउटै गोत्रमा विवाह गर्नुहुँदैन। किनकि एउटै ऋषिको सन्तानमा रगतभित्रको सूक्ष्म कोषिकामा तत्सम्बन्धित गोत्रीय ऋषिको प्रभाव रहन्छ।

तसर्थ एउटै गोत्रमा विवाह गरेको खण्डमा सन्तानमा विकलांगता, हिंसा, अस्थिरता, अशान्ति र दूराचारी प्रवृत्ति उत्पन्न हुन्छ। जसले समाज, धर्म, संस्कृति, मूल्य मान्यता र परम्परालाई छिन्नभिन्न गर्दछ। समाजमा दूराचार र कुसंस्कार बढ्छ।

जसले सम्पूर्ण समाजवादीय व्यवस्था छिन्नभिन्न हुन्छ। एउटै गोत्रमा विवाह गर्न निषेध गर्नुको कारण पनि यही नै हो। यो अत्यन्त वैज्ञानिक रहेको छ। सन्तानको सुख, शान्ति, समृद्धि र उन्नत जीवन चाहने व्यक्तिले एउटै गोत्रमा विवाह गर्नुहुँदैन।

अहिले पशुहरुमा पनि एउटै नस्लको प्रयोग लामो समय गर्नु हुदैन अर्थात् गोठमा गोरु, रागो, बोका लामो समय बीजको लागि राख्नु हुँदैन भन्ने कुरा वैज्ञानिकहरुले पनि पुष्टि गरेका छन्।

पूजामा पञ्चामृत किन ?

शरीर पाँच कोषले बनेको छ। प्राणमय कोष, ज्ञानमय कोष, अन्नमय कोष, विज्ञानमय कोष र मनोमय कोष। शरीरमा प्राण, अपान, व्यान, समान र उदान यी पाँच वायु गतिशील रहन्छन्। पूजा गर्दा यी सम्पूर्ण कोषहरू र पाँच वायुहरूको पुष्टिका लागि पञ्चामृतको विधान गरिएको पाइन्छ।

पञ्चामृतले शरीरका पञ्चज्ञानेन्द्रीय, पञ्चकर्मन्द्रीय र पञ्चप्राणलाई पुष्ट र शक्तिशाली बनाउन सहयोग पुर्‍याउँदछ। त्यसैले पूजा गर्दा भगवान्लाई पञ्चामृत चढाई आफ्नो शरीरको पुष्टिका लागि पञ्चामृत चढाएर प्रसादको रूपमा सबैले सेवन गर्नुपर्दछ।

शरीरमा शक्ति, क्रियाशीलता, सौर्य र साहसलाई बढाउन पञ्चामृत आवश्यक पर्दछ। देवपूजामा पञ्चामृत (दूध, दही, घिउ, मह, चिनी) अति आवश्यक मानिन्छ। देवपूजामा देवताहरूको जलबाट स्नान गराएर पञ्चामृतले स्नान गर्ने विधान छ।

मूर्तिलाई दूध, दही, घिउ, मह, चिनीआदिले स्नान गराउदा धातुजनित मूर्तिमा रहने सम्पूर्ण विकारहरू सफा हुन्छन्। पञ्चामृतको प्रयोगमा देवताहरू पुष्ट हुन्छन् र जसले देवतालाई पञ्चामृत चढाउछ त्यो भक्त पनि पुष्ट हुन्छ। देवताहरू तृप्त भई आशीर्वाद प्रदान गर्दछन्।

पञ्चामृतमा प्रयोग हुने दूध पौष्टिक रूपले भिटामिन, दही, घिउआदिमा भिन्न प्रकृतिको पौष्टिकतालाई जब हामी एकत्र गर्दछौं, त्यसले हाम्रो शरीरमा चाहिने प्रोटिन, भिटामिन, मिनरल्स, शक्ति, तेज प्राप्त हुन्छ।

पञ्चामृतमा तुलसीपत्र मिलायो भने महौषधि निर्माण हुन्छ, जुन औषधिमा वात, पित्त, कफ इत्यादिलाई शमन गर्ने शक्ति हुन्छ। शरीरलाई पुष्ट गर्न र दीर्घायुका लागि भगवान्लाई चढाई स्वयंले पनि भगवान्लाई चढाएको पञ्चामृत प्रसादको रूपमा सेवन गर्नुपर्दछ0

। पञ्चामृतले स्नान गराउँदा पढिने मन्त्रको प्रभावले सन्तान प्राप्ति अर्थात् सन्तान सुख,कार्य सिद्धि,अल्पायूको निषेध,शत्रुहरुमाथि विजय र सुन्दरताको प्राप्ति हुने विश्वास गरिन्छ।

शनिको दशामा पीपल पूजा किन ?

मानिसलाई बाँच्न शुद्ध प्राणको आवश्यकता पर्दछ। उसलाई चाहिने शुद्ध अक्सिजन, बोट, विरुवा र वनस्पतिहरूले हामीलाई दिन्छन्। हामीले फ्याकेको कार्बनडाइ अक्साइड बोटविरुवाहरूले ग्रहण गर्दछन्। प्रकृतिसग हाम्रो प्रत्यक्ष तालमेल रहेको छ। प्रकृतिको विनाश भयो भने हामी बाच्न सक्दैनौं।

बोटविरुवा विनाको जीवन सम्भव छैन। वैदिक सनातन परम्परामा पीपललाई भगवान् विष्णुको रूपमा पूजा गरिन्छ। भगवान् विष्णु संसारलाई पालन गर्नुहुन्छ । भगवान् विष्णुको कृपाद्वारा सम्पूर्ण सृष्टि गतिशील रहेको छ।

पीपल वृक्षले सर्वाधिक अक्सिजन उत्सर्जन गर्दछ। शनिबारको दिन सूर्यको किरणसग मिसिएर आएको शनिको नकारात्मक विकीरणले शनिको साढेसाती या अढैया दशा लागेका व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्दछ।

जसलाई शनिको नकारात्मक असर या दशा लागेको छ, त्यस व्यक्तिले प्रातःकालीन समय पीपलको फेदमा गएर तामाको लोहोटामा जल, तिल, मासको दाल, कालो कपडा र चन्दन चढाएर केही बेर पीपलको फेदमुनि बसेर ॐ अस्वत्थाय नमः भनेर ॐ प्रांै प्रीं प्रों सः शनैश्चराय नमः यस मन्त्रको १०८ पटक जप गर्‍यो भने शनिको नकारात्मक असर नाश हुन्छ र शुभफल प्राप्त हुन्छ।

शनिबारको दिन पीपलको फेदमा बसेर मन्त्र जपुञ्जेल हामीले शुद्ध अक्सिजन प्राप्त गर्दछौं। त्यो शुद्ध अक्सिजनले हाम्रो शरीरका कोषहरूलाई ताजा गराउछ, सम्पूर्ण विकारहरूलाई मेटाउँछ र शनिको दोष पनि मेटिन्छ। यसैले पीपलको पूजा अति महत्वपूर्ण रहेको छ।

हवन किन ?

उद्बुद्यस्वाग्ने प्रतिजागृ …

हे अग्निदेव! तिमी शक्तिशाली भएर सम्पूर्ण प्रजाको पालन गर। सधैँ देदीप्यमान भएर प्रज्वलित भइराख। वेदमा सर्वाधिक प्रयोग भएको मन्त्र भनेको अग्निको मन्त्र हो। अग्नि तीन प्रकारका हुन्छन्-

१. वाडवानलाग्नि :  समुद्रबाट उत्पन्न हुने अग्नि

२. दावानलाग्नि : वनमा रुख तथा लताहरूको घर्षणबाट उत्पन्न
हुने अग्नि

३. जठराग्नि : पेटमा काँचो पदार्थलाई पचाउन ताप उत्पन्न गर्ने
अग्नि ।

गृह्याग्नि, दक्षिणाग्नि,गार्हपत्याग्नि आदि अग्नि दावानलाग्निकै प्रयोजनपरक भेद हुन्। यी अग्निहरूमध्ये गार्हपत्याग्नि जो यज्ञमा प्रज्वलित गरिन्छ। इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनको व्यवस्थापनका लागि हवन अनिवार्य गर्नुपर्दछ।

हवन गर्दा प्रयोग गरिएका तिल, जौ, चामल, अष्टगन्ध, सर्वौषधी, जटामांसी, भोजपत्र, चन्दन, तथा विभिन्न हवनीय पदार्थहरूबाट निस्किएको सुगन्धित औषधीय गुणले सम्पूर्ण सौरमण्डललाई शुद्ध र पवित्र बनाउँछ।

हवनबाट उत्पन्न भएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ। सौरमण्डलमा फैलिएको नकारात्माक तत्व, भाइरस, ब्याक्टेरिया, नकारात्मक किटाणुहरूलाई नष्ट गर्दछ।

यज्ञात् भवति पर्जन्य..अर्थात् यज्ञ गर्नाले वायुमण्डल सफा हुन्छ। सामुद्रिक वाष्प मेघ बन्दछ र वृष्टि भई अन्न उब्जिन्छ। त्यसैले पनि प्रतिदिन घरमा हवन अनिवार्य गर्नुपर्दछ।

व्रत किन ?

शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमको कामहरू गर्न सक्दछ। सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ। हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ। स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो।

भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन। पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ। स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ। पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ।

त्यसैले पाचनक्रिया कमजोर हुनेगर्दछ। पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ। आरोग्यताका लागि जल, दूध या फलफूलको रस मात्रै खाएर उपवास गर्‍यो भने मानिसको लिभर, आन्द्रा, आमाशय र आन्तरिक सम्पूर्ण अङ्गप्रत्यङ्गहरूले विश्राम पाउँदछन्।

एकदिन उपवास बस्दा जुन देवताको उपवास बसिन्छ, तिनै देवतालाई स्मरण, मन्त्रजप, पूजाआदि गर्दा शरीरमा आरोग्यता, शारीरिक स्फुर्ति र सबलता प्राप्त हुन्छ।

व्रत गर्दा आइतबार भगवान् सूर्यको, सोमबार शिवजीको, मङ्गलबार गणेशको, बुधबार कुबेर या देवीको, बिहिबार भगवती बगलामुखी या लक्ष्मीनारायणको, शुक्रबार भगवती दुर्गा या वैभवलक्ष्मीको, शनिबार भैरव या शनिको व्रत, जप गर्नुपर्दछ। तिथिअनुसार पनि व्रत गर्न सकिन्छ।

कूलदेवताको लागि भने पूर्णिमाको व्रत अनिवार्य गर्नुपर्ने हुन्छ। व्रतबाट आरोग्यता, स्वस्थता र मनोकामना पूरा हुन्छ। शरीरको आन्तरिक शुद्धि र स्वस्थताका लागि व्रत गर्नु अति नै उपयोगी हुन्छ।

शङ्खनाद किन ?

शङ्ख बजाउने कार्यलाई शङ्खनाद भनिन्छ। शङ्खनाद एक विशेष प्रकारको साधना हो। कुनै पनि वैदिक महत्वपूर्ण अवसरमा शङ्खलाई बजाइने गरिन्छ।

बालकको मुखदर्शन, वरबधूको मुखदर्शन, असामान्य (विशिष्ट) व्यक्तिको आगमन एवं नित्यपूजा या आरति गर्ने समयमा शङ्ख बजाएर वरिपरी रहेको वातावरण स्वच्छ बनाउने प्रक्रिया वैदिक कालदेखि चलिआएको प्रक्रिया हो।

जन्मदेखि मृत्युसम्म सम्पूर्ण संस्कारमा शङ्खनाद गरिन्छ। नेपाली समाजमा पनि कुनै माङ्गलिक कार्य या शुभकार्यको उत्सव÷अवसरमा शङ्ख बजाएर माङ्गलिक ध्वनि प्रसारण गर्ने संस्कार छ।

शङ्खको मुखमा आफ्नो मुख लगाउदा ओठको रखाई, फुक्ने श्वासको परिणाम, मनको एकाग्रता एवं इच्छाशक्तिको प्रबलता यी चार प्रमुख कुराहरूको मेलबाट नै शङ्खबाट सुमधुर ध्वनि निस्किन्छ।

यदि यी चार प्रकारमध्ये कुनै एकको कमी भयो भने शङ्खबाट अपेक्षित ध्वनि निस्किँदैन। शङ्ख बजाउने समय शङ्खको ध्वनि कतातिर छ र सहज तरिकाले शङ्ख ध्वनित हुन्छ कि हुदैन भन्ने जानकारी हुनु आवश्यक छ। शङ्ख बजाउनाले विभिन्न श्वासप्रश्वाससम्बन्धी समस्याहरूको समाधान हुन्छन्।

शङ्खघोषबाट निस्किने ॐ को ध्वनिले मानसिक रोग निको पार्दै कुण्डलिनी जागरणको सशक्त साधन बन्दछ। यसमा विशेष प्रकारको बहिर्कुम्भक (प्राणायाम) को प्रक्रिया सन्निहित हुन्छ। यसले शरीरका रहेको तन्त्रिका नामक तन्त्रको उद्वेलित गर्दछ।

जसले गर्दा प्रसुप्त तन्त्र जागृत हुन्छ। शङ्खको ध्वनिले सत्वगुणी क्रियाशक्तिको सञ्चरण गर्दछ। वैज्ञानिक प्रविधिद्वारा पनि प्रमाणित भइसकेको छ- वाणी या बोलीसग सम्बन्धित विकार या अशुभता शङ्खनादको अभ्यास या ध्वनिबाट नष्ट हुन्छन्।

वायुमण्डलमा इलेक्ट्रोन, न्युट्रोन, प्रोटोनको गतिलाई व्यवस्थित गर्दछ। भाइरस, ब्याक्टेरियाआदि गरेका सूक्ष्म किटाणुहरूको असरलाई कम गर्दछ। शङ्खध्वनि गरेको ठाउमा कुनै पनि अशुभ र विघ्न हुँदैन।

यसलाई मनलाई एउटै साकार आकृतिमा स्थिर राखेर ध्वनीको माध्यमले उपचार गर्ने पद्दतिको रुपमा लिन सकिन्छ। अतः शङ्ख बजाउनुको महत्ता विशिष्ट रहेको छ।

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित 1 Minute 107 Views

ताजा समाचार