२०८१ बैशाख ३ सोमबार

बेलबारीमा ३ वटा सवारी जुध्दा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज बिहान पूर्व–पश्चिम लोकमार्गको बेलबारी नगरपालिका–१ र ३ को सीमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको हो । त्यस्तै, तीन जना गम्भीर घाइते भएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै जाँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते भएका छन् । उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा परेको बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । अनलाइन खबर

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार