
धुलाबारी । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले परम्परागत शिक्षा प्रणालीलाई समयसापेक्ष परिस्कृत र परिमार्जित गर्दै युग अनुकूलको बनाउनुपर्ने धारणा राखेका छन् ।
झापामै पहिलोपटक धुलाबारीमा बिहीवारबाट शुरु भएको दुईदिने ‘इञ्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) को उद्घाटन गर्दै उनले भने, ‘निःशुल्क शिक्षा नागरिकको नैसर्गिक अधिकार हो, यो अधिकारबाट कोही पनि बञ्चित हुनुहुँदैन ।’

स्थानीय सरकारले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै प्रमुख अतिथि बुढाथोकीले सबै नागरिक दक्ष र योग्य बन्न प्राविधिक शिक्षाको खाँचो पर्ने बताए ।
त्यस्तै, उद्घाटन कार्यक्रमकी विशिष्ट अतिथि नगर उपप्रमुख मीना उप्रेतीले सबै बालबालिकामा शिक्षाको पहुँच पुर्याउन स्थानीय सरकार प्राथमिकताका साथ अघि बढेको बताइन् ।
“स्थानीय सरकारले सीमित स्रोत र साधनको उच्चतम उपभोग गर्दै शिक्षालाई प्रमुख प्राथमिकता दिएको छ”, उनले भनिन्, “गुणस्तरीय र सर्वसुलभ उच्च शिक्षा नै विद्यार्थीको पहिलो रोजाई रहेको हो ।”
व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिँदै नगर उपप्रमुख उप्रेतीले शैक्षिक प्रतिष्ठानहरुले शिक्षालाई उत्पादन र उद्यमशिलतासँग जोड्ने परिपाटीको विकास गर्ने बताइन् । यसैगरी, नगरका निवर्तमान प्रमुख विमल आचार्यले प्रत्येक शैक्षिक संस्थाले अभिभावकसँग हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिए ।
“नगरका शैक्षिक संस्थाहरु दिनानुदिन धराशायी बनिरहेका छन्, यसतर्फ स्थानीय सरकार, अभिभावक, शिक्षासँग सम्बद्ध प्रबुद्ध व्यक्ति, समाजसेवीलगायत सरोकार राख्ने सबैपक्ष गम्भीर बन्न जरुरी छ ।”
कार्यक्रममा इन्स्टिच्यूटका प्रिन्सिपल इञ्जिनियर रुद्र मैनालीले विद्यार्थी स्वयंले आर्जन गरेको सैद्धान्तिक र व्यवहारिक सीप एवं कला प्रदर्शनीमार्फत उजागर भएको बताए । मेचीनगरलाई प्राविधिक शिक्षालयको हवका रुपमा स्थापित गर्न प्रदर्शनी फलदायी सावित हुने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा इन्स्टिच्यूटका प्रशासन प्रमुख पुष्पराज पौडेल, धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासलगायतले प्रदर्शनीबारे आफ्ना धारणा राखेका थिए ।
आयोजक मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूट (प्राविधिक शिक्षालय) का प्रिन्सिपल रुद्र मैनालीको अध्यक्षतामा भएको प्रदर्शनी उद्घाटन सत्रको सञ्चालन प्रशिक्षक दामोदर ढुंगेलले गरेका थिए ।
प्रदर्शनीमा आइटी विभागबाट ११ वटा, आर्किटेक्चर विभागबाट ११ वटा र सिभिल विभागबाट ८ वटा गरी विद्यार्थीहरुले तयार गरेका कूल २६ वटा संरचना राखिएको छ । मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा परिसरमा शुरु प्रदर्शनी शुक्रबारसम्म चल्ने छ ।