२०८१ बैशाख २२ शनिबार

रोमाञ्चक खेलमा नामिबियासँग २० रनले हार्‍यो नेपाल

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । कप्तान रोहित पौडेलले पनि ४२ रनको योगदान गरे । कुशल मल्ल ३२ रन बनाउँदै आउट भए । सोमपाल कामीले पनि टोलीको खातामा २६ रन थपे । करण केसी दुई रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा सात रन पायो ।

निकै रोमाञ्चक खेलमा नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर रुबेल ट्रम्पलम्यानले चार विकेट लिए । उनले ३.५ ओभरमा २९ रन खर्चिएका थिए । ब्रेन्डन स्कोल्ज, जन फ्राइलिंक र जन निकोल लफ्टी ईटनले पनि दुई–दुई विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाका ब्याट्सम्यान प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका थिए । नामिबियाका एक ब्याट्सम्यानले कीर्तिमानी शतक र अर्का ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जन निकोल लफ्टी ईटनले कीर्तिमानसहित एक सय एक रन बनाए ।

उनले केवल ३६ बलमा आठ छक्का र ११ चौका पनि प्रहार गरे । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा पारे । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

ईटनले केवल ३३ बलमा शतक पुरा गरे । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए । चीनमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत खेलिएको उक्त खेलमा कुशल मल्लले केवल ५० बलमा अविजित एक सय ३७ रन बनाएका थिए ।

नामिबियाका लागि ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि अविजित ५९ रनको योगदान गरे । उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । नामिबियाले ६२ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो ।

त्यसपछि क्रुगर र ईटनले टोलीको स्कोरलाई एक सय ९७ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । नामिबियाको रन रेट १०.३० रह्यो । नामिबियाले अतिरिक्त रुपमा पनि नौ रन पायो । नामिबियाका कप्तान जोहानेस जोनाथन स्मित एक रनमा अविजित रहे । नेपाली टोलीका बलर रोहित पौडेलले दुई विकेट लिए । करण केसी र अविनाश बोहराले पनि एक–एक विकेट हात पारेका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका थिए । उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका हुन् ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ६ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनको विकेट पनि ट्रम्पलम्यानले नै लिएका थिए । ट्रम्पलम्यानले उनलाई जन फ्राइलिंकद्वारा क्याच गराएका थिए । २.५ ओभरमा उनी आउट हुँदा नेपालले २० रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराएका थिए । ७.३ ओभरमा उनी आउट हुँदा नेपाली टाेलिले ७७ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले २१ बलमा एक छक्का र चार चौकाको मद्दतले ३२ रन बनाएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले कप्तान स्मितद्वारा क्याच गराएका थिए । ९.५ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९१ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई स्कोल्जले बोल्ड गरेका थिए । ११.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय १५ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी पाँच बलमा पाँच रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर लफ्टी ईटनले फ्राइलिंकद्वारा क्याच गराएका थिए । फ्राइलिंकले लिएको यो तेस्रो क्याच थियो । १३.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको थियो । उनी चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका थिए । १४.२ ओभरमा विवेक आउट हुँदा नेपालले एक सय ३४ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी ११ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ७० रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ४८ रन बनाउँदै आउट भएका थिए । उनले ३२ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ट्रम्पलम्यानले विकेटकिपर ग्रिनद्वारा क्याच गराएका थिए । १८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८६ रन बनाएको थियो ।

नेपालले दशौँ तथा अन्तिम विकेटका रुपमा अविनाश बोहरालाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनी पहिलो बलमै आउट भएका थिए । अविनाषलाई नामिबियाका बलर ट्रम्पलम्यानले बोल्ड गरेका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका थिए । ३२ वर्षीय करणले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो ८०औँ विकेट हो । छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको थियो ।

नामिबियाको दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई बिवेक यादबद्वारा क्याच गराएका थिए । विवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए । पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा नामिबियाले ४९ रन बनाएको थियो ।

नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका थिए । उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई पाँच रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । २१ वर्षीय रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको विकेट सँख्या पाँच पुगेको छ । १०.४ ओभरमा फ्राइलिंक आउट हुँदा नामिबियाले ६२ रन बनाएको थियो ।

नामिबियाको चौथो विकेट अविनाश बोहराले लिएका थिए । उनले मैदानमा जमिसकेका जन निकोल लफ्टी ईटनलाई पेभेलियन फर्काएका थिए । उनले ईटनलाई गुलसन झाद्वारा क्याच गराएका थिए । १९.२ ओभरमा ईटन आउट हुँदा नामिबियाले एक सय ९७ रन बनाएको थियो ।

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 0 Minutes 84 Views

ताजा समाचार