२०८१ बैशाख १६ आईतवार

दादुरा–रुबेलाविरुद्धको खोप अभियान : मेचीनगरका ३३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य

इटाभट्टा । मेचीनगर नगरपालिकामा आउँदो फागुन २० देखि २९ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ३३ हजार बालबालिकालाई खोप लगाइने भएको छ ।

नगरको स्वास्थ्य शाखाले मंगलवार आयोजना गरेको सञ्चारकर्मीहरुसँगको छलफलमा नगरभित्रका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने जानकारी गराइएको हो ।

त्यसक्रममा नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले १०६ वटा विद्यालय, स्वास्थ्य शाखालगायतका खोप केन्द्रबाट सञ्चालन गरिने अभियानलाई सफल बनाउन शिक्षक, राजनीतिक दल, संघ–संस्था र सञ्चारकर्मीलगायत सम्पूर्णमा आग्रह गरेकी छन् ।

“खोपबारे भ्रम सिर्जना हुनसक्छ, त्यसतर्फ सबै सचेत रहनुपर्छ”, उनले भनिन, “खोपका विषयमा भ्रामक सन्देश प्रवाह भए खण्डन गरी भ्रम निवारण गर्न सञ्चार क्षेत्रबाट सहयोगको अपेक्षा छ ।”

अभियानका क्रममा कुनै त्रुटी वा घटना भए, कुनै सूचना प्राप्त भए सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी सत्य तथ्य खबर प्रवाह भए अभियानबारे नकारात्मक प्रभाव नपर्ने स्वास्थ्य शाखा प्रमुख सापकोटाको भनाइ थियो ।

उनका अनुसार अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन पालिका क्षेत्रका सबै विद्यालयका विद्यार्थीलाई जानकारी गराउने, विद्यार्थीबाट अभिभावकलाई बालबच्चालाई खोप कार्यक्रममा सहभागी गराउन निमन्त्रणा गर्नेलगायतका कामहरु तीव्र रुपमा भइरहेको छ ।

छलफलमा नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले लिएको लक्ष्य हासिल गर्न सबैपक्ष लागिपर्न आवश्यक रहेको बताए ।

नियमित खोप लगाउनबाट बञ्चित रहेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्यका साथ आवश्यक तयारी भइरहेको उनले बताए ।

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार