काठमाडौं । मंगलवार आठ वटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समितिको बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सिंहदरबारमा बस्ने समितिको बैठकमा आन्तरिक छलफल हुनेछ । त्यस्तै, दिउँसो २ बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता प्रवर्द्धनमा आयोगले खेलेको भूमिकाबारे छलफल हुनेछ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोवास गर्दै आएकालाई स्थानान्तरणलगायत विषयका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । सेतोपाटी