२०८१ बैशाख १७ सोमबार

यसकारण अरुभन्दा छुट्टै थिए भजन शिरोमणी

काठमाडौं– विक्रम संवत् १९९९ असोज १६ गते धनकुटामा जन्मिएका भजन शिरोमणी भक्तराज आचार्य २०८० फागुन १४ गते सोमवारका दिनदेखि सधैंका लागि हामीबाट विदा भएका छन् ।

भक्तराज आचार्य गायकमात्रै होइन कुशल संगीतकार पनि थिए । मुटु जलिरहेछ, जति चोट दिन्छौँ, हजार सपना, माया मेरी साँझ बनी, जीवन भन्नु त घात छ, यहाँ जिन्दगीले लगायत झण्डै पाँच सय गीतमा आवाज दिएका संगीतकर्मी आचार्यको निधनमा यतिबेला सांगीतिक क्षेत्र शोकाकूल बनेको छ ।

सामाजिक सञ्जालमा भजन शिरोमणि आचार्यप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गरिँदैछ । अधिकांश संगीतकर्मीहरुले उनका लोकप्रिय गीतका शब्दहरु शेयर गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

भजन शिरोमणी भक्तराज आचार्य केवल गायकमात्र नभएर कुशल संगीतकार पनि थिए । यी दिग्गज संगीतकर्मीले झण्डै पाँच सय सय गीतमा आवाज दिएका थिए ।

तन मन वचनले, प्रभु नामसहित दर्जनौं लोकप्रिय भजनहरु गाएर भजन शिरोमणीको उपाधि प्राप्त गरेका आचार्यका आधुनिक गीत पनि उत्तिकै लोकप्रिय रहेका छन् । आधुनिक शैलीका गीत र भजनबाट उनलाई विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित गरिएको थियो ।

उनको सबै भन्दा ठूलो सम्मान भनेकै भजन शिरोमणीको उपाधि प्राप्त गर्नु हो । उनलाई पद्मश्री पुरस्कारबाट पनि पुरस्कृत गरिएको थियो । त्यस्तै उनले गोरखा दक्षिण बाहु पदकबाट पनि सम्मानित गरिएको थियो । गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), विरेन्द्र-ऐश्वर्या सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय संगीत सम्मान २०७५ संगै विभिन्न समारोहहरुमा लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुन सफल थिए ।

आचार्यको जीवनीमाथि ‘आचार्य’ नामक नेपाली फिल्म नै बनेको छ, जसमा भक्तराज आचार्यको जीवनका हरेक उतार-चढावको बारेमा देखाइएको छ । उक्त फिल्ममा सत्यराज आचार्यले नै भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् ।

भक्तराज आचार्यको जीवनमा एउटा यस्तो घटना घट्यो जसको उनले कल्पनासमेत गरेका थिएन् । उनलाई २०४६ सालमा एउटा बज्रपात आइलाग्यो । उनीमाथि काठमाडौंको बौद्धमा सांघातिक आक्रमण भयो । उनको त्यो चोट निको नहुँदै अर्को बज्रपात आइलाग्यो । २०५० मा उनको जिब्रो काट्नु पर्यो र त्यो घटनापछि उनको गायन यात्रामा पूर्ण बिराम नै लाग्यो ।

त्यो बेला नै हो नेपाली सांगीतिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाजलाई गुमायो र नेपाली सांगीतिक क्षेत्रमा अपूरणिय क्षति भयो, जुन क्षति सानो तपस्या र लगावले पुरा गर्न समेत सकेन । हरेक नेपाली स्रोताले उनलाई कहिले बिर्सने छैनन् । उनले नेपाली सांगीतिक क्षेत्रलाई सत्यराज–स्वरूपराज आचार्य जस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन् ।

गीत गाउन असमर्थ भएको ३४ वर्षपछि भजन शिरोमणी आचार्य सधैंका लागि हामीबाट विदा भएका छन् । उनी यो संसारमा नरहने पनि उनका कालजयी गीत–संगीतहरु सदा–सदाका लागि गुञ्जिरने छन् । भजन शिरोमणीप्रति हार्दिक श्रद्धा सुमन ।

२०८० फाल्गुन १४, सोमबार प्रकाशित 1 Minute 105 Views

ताजा समाचार