१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०/८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ ।
सोमबार बसेको २५ औं साधारण सभामार्फत पारित वार्षिक क्यालेण्डरमा
महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु समावेश गरिएको छ ।
सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुुसमा हुने छ ।
ए डिभिजन लिग अघि २०८१ को असोज÷कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ ।
बी डिभिजन र सी डिभिजनका खेलहरु एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरुसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
२ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।
ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरुसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ ।
फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौं र पोखरामा हुनेछ । यू–१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ ।
यू–१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।
ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरु २०८१ साउनदेखि असोजसम्म हुनेछन् ।
ललित मेमोरियल यू–१८ युथ लिग, यू–१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।
अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोज/कात्तिकमा हुनेछ । त्यस्तै, सी डिभिजन फुटसल लिग मंसिर/पुसमा हुनेछ । अनलाइन खबरबाट