
पाँचथर । झापा-११ सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
फिदिम खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइन खेलमा रेडहर्स एफसी इलाम विरूद्द १-० को संघर्षपूर्ण जीत निकाल्दै झापाले सेमीफाइनल यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको झापाले दोश्रो हाफमा अग्रता बनाएको हो ।

खेलको ६४ औं मिनेटमा निकेश श्रेष्ठको फ्रिकिकमा प्रदीप बुढाथोकीले गोल गर्दै झापाली टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर इलामले केहि आक्रमक खेल पस्के पनि गोल गर्न नसक्दा नतिजा झापालाई सुम्पिनु पर्यो ।
टोलीलाई जीत दिलाउन निर्णायक गोल गरेका प्रदीप खेलको म्यान अफ दि म्याच बने । उनले नगद २५ सय रुपैंयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही र पथरी ११ मोरङबीच प्रतिश्पर्धा हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ ।
आयोजकले दर्शकका लागि राखेको सुटआउट हिरो र फ्यान अफ दि म्याचको पुरस्कार भने आइतबार देबिका गुरुङ र झरना खवासले पाएका छन् ।