२०८१ जेष्ठ ६ आईतवार

अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकको शून्य समयमा उनले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए ।

‘विगत केही दिनदेखि यताकाले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउने दोहोरी चलिरहेको छ,’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, ‘यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो ।’

उनले अख्तियार र आयोगले डामेका झण्डावाला (मन्त्री) लाई घर पठाउनुपर्ने बताए ।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ सांसद थापाले भने ।

केही दिनदेखि संसदमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग भइरहेको छ ।उनले छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने बताए ।

‘सहकारी ठग्ने, दुई–चार थान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऊँ । यत्ति गर्न सके के होला ?,’ उनले भने, ‘निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड बेहोर्नुहोला ।’

उनले अलि–अलि सफा गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने बताए । सेतोपाटी

२०८० फाल्गुन १४, सोमबार प्रकाशित 0 Minutes 77 Views

ताजा समाचार