काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ ।
सोमवार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट उनलाई पक्राउ गरिएको एसपी होबिन्द्र बोगटीले बताए । उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो ।
भन्सार कार्यालयले यसमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो ।
यस्तै, विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो । डनबहादुर भने फरार थिए । यस्तै, भन्सार कार्यालयले त्यतिबेला जीवनकुमार विरूद्ध मुद्दा चलाएको थिएन ।
अब पूरक अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ पूर्जी लिइएको थियो । स्रोतका अनुसार उनको र मीनबहादुर घलेबीच बारम्बार कुराकानी भएको प्रमाण फेला परेको छ । भन्सार कार्यालयले उनीसँगै थप केही व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । सेतोपाटी