काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयले आफूखुसी शिक्षक नियुक्ति गरेको भन्दै उच्च अदालत विराटनगर इलाम इजलासले शिक्षक नियुक्ति बदर गर्ने निणर्य गरेको छ । काँकरभिट्टा माविले उच्च मावि दरबन्दीमा नियुक्ति गरेका शिक्षक फाल्गुनी दाहालको नियुक्ती बदर गरिदिएको मेचीनगर नगरपालिकाका कानून अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।
काँकरभिट्टा माविले २०७९ फागुन ५ गते उच्च मावि दरबन्दीमा शिक्षक पदपुर्तिका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा लिएको परीक्षमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै २०७९ फागुन २६ गते ४० बर्ष उमेरहद काटीसकेका फाल्गुनी दाहाललाई विद्यालय व्यवस्थापन समितिले आफूखुसी नियुक्ती गरेको थियो । उक्त नियुक्तीलाई जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई झापाले अभिलेखिकरण नगरेपछि मेचीनगर नगरपालिकाको शिक्षा शाखाले तलब भुक्तानी गर्न नमिल्ने जनाएको थियो ।उक्त नियुक्तिविरुद्ध सोही परीक्षमा सहभागी भएर छनौट समितिको वैकल्पिकको सूचीमा परेका अनुज दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।विद्यालय व्यवस्थापन समितिले आफूखुसी शिक्षक नियुक्ति गरेको दाहालको भनाइ छ । सो उजुरीमा अख्तियारले पुन: सूचना निकालेर अर्को शिक्षक नियुक्ती गर्न निणर्यसहितको पत्र जिल्ला प्रशासन झापामार्फत विद्यालयलाई पठाएको थियो ।
अख्तियारको निणर्यविरुद्ध फाल्गुनी दाहालले अख्तियारको कार्यालय इटहरी, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापा, मेचीनगरको शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिलाईसमेत विपक्षी बनाई उच्च अदालत बिराटनगर इलाम इजलासमा २०८० जेठ २५ गते आफ्नो नियुक्ती कानूनसम्मत भएकाले सदर गरिपाँउ भनी रिट निवेदन दर्ता गराएका थिए ।
सोही रिटको अन्तिम फैसला गर्दै उच्च अदालतले फाल्गुनीको नियुक्ति कानून विपरीत भएको ठहर गर्दै विद्यालयले फाल्गुनीलाई नियुक्ति गर्न अपनाएको सम्पूणर् प्रक्रिया बदर गरिदिएको हो । उक्त शिक्षक नियुक्तिका लागि लिइएको परीक्षमा फाल्गुनीसहित अनुज दाहाल, पारस दाहाल, रोहित बराल र नविन गौतम सहभागि भएका थिए ।