काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेका थिए ।
समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डका आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए । अनलाइन खबर