२०८१ आश्विन २६ शनिबार

७५४ औं स्थानीय तहका रुपमा ‘गैंडाटार गाउँपालिका’ प्रस्ताव

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको नगरसभाले वडा नम्बर ३ लाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ ।

५ फागुनमा बसेको नगरसभाले वडा नं. ३ को वडा समितिले गरेको निर्णयलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । वडा नं. ३ को समितिले भूगोल र प्रशासनिक क्षेत्रलाई छुट्टै गाउँपालिका बनाउन माग गर्ने निर्णय गरेको थियो ।

हाल ७५३ स्थानीय तह रहेकामा चन्द्रपुर नगरपालिकाले ७५४ औं स्थानीय तहका रुपमा ‘गैैंडाटार गाउँपालिका’ स्थापना गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । तर, नगरप्रमुख सञ्जयकुमार काफ्ले नगरसभाको सो निर्णय तत्काल प्रमाणीकरण नगर्ने अडानमा छन् ।

३ नम्बर वडाका वडाध्यक्ष बोधनाथ देवकोटा भने नगरसभाबाट भएको निर्णय कानूनअनुसार अघि बढ्ने र नयाँ पालिका बन्ने बताउँछन् ।

‘वडाको भूगोल र क्षेत्रफल ठूलो भयो, जनताले दुःख पाए, वर्षामा गाडी पुगेन, समयमै बिजुली पुगेन’, उनले भने, ‘बजेट बाँड्ने बेलामा सुगम क्षेत्रलाई नै प्राथमिकता दिइयो, त्यही भएर हाम्रो क्षेत्र कहिल्यै विकास नहुने देखेपछि नयाँ पालिका प्रस्ताव गरेका हौं ।’

उनका अनुसार वडा समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २ को दफा १ ,२ र ३ बमोजिम नयाँ स्थानीय तहका लागि आवश्यक मार्ग प्रदान गरेको र नेपालको संविधान २०७२ को धारा २९५ उपधारा ३ र धारा ५६ को उपधारा ४ र ५ बमोजिम वडाको भौगोलिक तथा प्रशासनिक क्षेत्रलाई छुट्टै पालिका बनाउने निर्णय गरेको थियो । अनलाइन खबर

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 134 Views

ताजा समाचार