काठमाडौं । भारतको किसान आन्दोलनमा प्रहरीको दमनबाट एक युवाको मृत्यु भएपछि प्रदर्शनले उग्ररुप लिएको छ ।
आक्रोशित किसानहरुले सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । पन्जाबको शम्भू बोर्डरमा रहेको किसानहरुको क्याम्पमा प्रहरीले आक्रमणसमेत गरेका छन् ।
अर्धसैनिक बल र हरियाणा प्रहरीले पन्जाबस्थित किसानहरुको क्याम्पमा आक्रमण गर्दा ६ जना बेपत्ता भएका किसान अगुवाहरुको भनाइ छ । किसान नेताहरुले बिहीवार पत्रकार सम्मेलन गरी सरकारले बर्बरतापूर्वक आक्रमण गरेको र ६ जना किसान बेपत्ता भएका बताएका हुन् ।
पत्रकार सम्मेलनमा एक किसान नेताले भने, ‘दुई देशबीच लडाइँ हुँदा पनि मानवताको आधारमा प्यारामेडिकल स्टाफहरुमाथि कसैले आक्रमण गर्दैन तर, हिजो उनीहरुले खनौरीको मेडिकल क्याम्प, जहाँ डाक्टरहरुले घाइतेहरुको उपचार गरिरहेका थिए, उनीहरुलाई पिटे, लुटपाट गरे । यसबाट थाहा हुन्छ सरकारले बर्बरताको सीमा नाघेको छ ।’
उत्पादनको उचित मूल्य पाउनुपर्नेलगायतका माग राख्दै भारतको पन्जाब, हरियाणा, उत्तर प्रदेशलगायतका किसानहरुले दिल्ली मार्च अभियान चलाएका छन् । तर, सुरक्षाकर्मीहरुले दिल्ली प्रवेश गर्ने नाकाहरु बन्द गरेर किसानहरुलाई रोक्दै आएका छन् ।
किसानहरुले नौ दिनदेखि प्रदर्शन जारी राख्दै केन्द्रीय मन्त्रीहरुसँग वार्ता पनि गर्दै आएका छन् । लगातार चार पटकको वार्ता असफल भएपछि बुधवार २१ फेब्रुअरीदेखि उनीहरुले सुरक्षाकर्मीको अवरोध पन्छाएर दिल्लीतर्फ अघि बढ्ने निर्णय गरेका थिए ।
दिल्लीतर्फ अघि बढ्ने क्रममा बुधवार पन्जाब र हरियाणाको सीमानामा पर्ने खनौरी भन्ने स्थानमा प्रहरी र किसानहरुबीच झडप भएको थियो । झडपमा परी किसानहरुतर्फ २१ वर्षीय एक युवकको मृत्यु भएको थियो । १५ जना घाइते भएका छन् ।
उक्त घटनापछि संयुक्त किसान मोर्चाले दिल्लीतर्फ अघि बढ्ने योजना तत्काललाई स्थगित गरेको किसान नेता सरवन सिंह पंढेरले जानकारी दिए । किसानहरुले यो घटनाको जिम्मेवार मोदी सरकार रहेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । अनलाइन खबर