२०८१ जेष्ठ ३ बिहीबार

८ अर्बको व्यापार घाटा

काठमाडौं : गत आर्थिक वर्ष अत्याधिक आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेको थियो । त्यसपछि सरकारले विदेशी मुद्रा सञ्चितिमा नियन्त्रण गरेको थियो । यसको परिणाम भने अहिले देखिन थालेको छ । अहिले तुलनात्मक रूपमा आयात नियन्त्रित भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले आयात नियन्त्रित भएको देखाएको छ ।

यस अवधिमा नेपालको कुल आयात वार्षिक २.३१ प्रतिशत अर्थात् २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आवको सात महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो गत आवकोभन्दा कम हो । गत आव आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको भएको थियो ।  यसपटक आयात घटे पनि सोबाट सरकारले उठाउने राजस्व भने गत वर्षको तुलनामा सुधार भएको छ ।

तुलनात्मक रूपमा राजस्व गत आवको भन्दा ११.४३ प्रतिशत (२४ अर्ब साढे २५ करोड) बढेर २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जबकी गत वर्षको आयातमार्फत सरकारले २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजस्व उठाएको थियो ।

यसैक्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा आयात घट्नुको कारण बजारमा माग न्यून भएको बताउँछन् । तर, यसबीच पनि भन्सारमा उल्लेख्य सुधार गर्न सम्भव हुनुको कारण प्रशासनिक सुधार भएको दाबी गर्छन् । ‘विभागले नियमन अनुगमन गतिविधि पनि बढाएकाले र समग्रमा प्रशासनिक सुधार गरेका कारण राजस्वमा सुधार ल्याउन सफल भएको हो,’ महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने । विभागले आन्तरिक नियन्त्रण प्रणालीमा भित्र कडाइ गरेको उनको भनाइ छ । समग्रमा आयातको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ, फलाम र सवारी साधन बढी छ । यसअवधिमा कुल आयातको २०.६० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ ।

चालु आवको ७ महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको डिजेल, पेट्रोललगायतका पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त रकम बराबरको पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले ६५ अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरको भन्सारवापत राजस्व उठाएको छ । यसपछि बढी आयातको दोस्रो स्थानमा फलाम र स्टिल देखिन्छ । यसअवधिमा यसको आयात ७६ अर्ब ५ करोड ५७ लाख ६६ हजार रुपैयाँ बराबरको भएको छ ।

यो कुल आयातको ८.४७ प्रतिशत हिस्सा हो । उक्त बराबरको आयातमा सरकारले १२ अर्ब ९ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यसबाहेक बढी आयात को तेस्रो स्थानमा सवारीसाधन र यातायातका पार्टपुर्जाहरू छन् । माघसम्ममा यी बस्तुको आयात ६० अर्ब ८३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो कुल आयातको ६.७७ प्रतिशत हो । उक्त आकारमा सवारीसाधन आयात हुँदा सरकारले १० अर्ब ६० करोड ४६ लाख ९८ हजार रुपैयाँ बराबरको राजस्व उठाएको छ । तर, पछिल्लो समय सरकारले विद्युतीय सवारीसाधन (ईभी)मा छुट दिएका कारण समग्रमा यातायातको भन्सार राजस्व घटेको महानिर्देशक पौडेलले जानकारी दिए ।

समग्रमा बजारमा उपभोक्ताहरूको क्रयशक्ति घटेकाले मागमा कमी आएकाले व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । आयातको यो प्रवृत्तिले पनि यस्तै पुष्टि गर्छ । त्यसो त नेपालबाट निर्यात हुने वस्तु पनि बढ्न सकेको छैन । उल्टै घटेको छ । चालु आवको माघसम्ममा निर्यात ७.०७ प्रतिशतले घटेको छ । नेपालबाट गत वर्षको ७ महिनामा कुल ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, यसपटक निर्यात घटेर ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । यसअनुसार गत वर्षको तुलनामा ६ अर्ब ६० करोड १४ लाख रुपैयाँले निर्यात घटेको छ ।

कुल आयातको तुलनामा निर्यातको हिस्सा धेरै नै कम छ । नेपालको अर्थतन्त्र आयातित वस्तुमै निर्भर छ । जसले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारी मात्रै छ । नेपालले १ लाख रुपैयाँको आयात गर्दा १० हजार रुपैयाँ मात्रै निर्यात गर्न सकेको छ । यसै कारणले नेपालले सधैं व्यापार घाटा बेहोर्नु परेको छ । यसअवधिमा पनि नेपालको आयातको आकारभन्दा निर्यातको आकार झन घटेकाले  व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ बराबरको छ । गत वर्ष व्यापार घाटा अझै बढी थियो । गत आवको ७ महिनामा ८ खर्ब २५ अर्ब ७३ करोड बराबरको थियो । अन्नपर्ण पोष्ट

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 66 Views

ताजा समाचार