२०८१ बैशाख १५ शनिबार

वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

 

पदमराज जोशी

जब हामीलाई झनक्क रिस उठ्छ, तब के गर्छौं ? कराउँछौं, चिच्याउँछौं, तोडफोड गर्छौं, झैं–झगडा गर्छौं । रिस उठ्दा हाम्रो शरीरले जुन प्रतिक्रिया दिन्छ, त्यो कुनै पनि रुपमा फाइदाजनक छैन । यो तथ्य थाहा भएर पनि हामी नरिसाई बस्न सक्दैनौं । वा रिसलाई नियन्त्रणमा राख्न सक्दैनौं ।

हामीलाई रिस उठ्नुमा खासगरी दुई कुरा जिम्मेवार हुन्छन्– जैविक र मनोवैज्ञानिक । रिस हरेक व्यक्तिमा हुने एक किसिमको प्राकृतिक गुण (अवगुण) हो । यसकारण रिस उठ्नु स्वभाविक पनि हो ।

हामी भन्ने गर्छौं, जब रिस उठ्छ त्यसलाई नियन्त्रण गर्नुपर्छ । कसरी ?

मनलाई अन्यत्र मोड्नुपर्छ, लामो र गहिरो सास लिनुपर्छ, बाहिर हिंड्डुल गर्न निस्कनुपर्छ, रमाइलो गीत सुन्नुपर्छ । तर के व्यावहारिक रुपमा यो सम्भव छ ? रिस उठिरहेको बखत हामी त्यसलाई शान्त गर्ने यी विधिहरु खोज्ने गर्छौं ।

रिसको चरणमा पुगेको बेला त्यसलाई हामीले मोड्न कठिन हुन्छ । रिसलाई कुनै न कुनै रुपमा व्यक्त नै गरिन्छ । चाहे मूर्खले होस् वा चाहे विद्वानले नै । रिसको झोंकमा केही न केही गरेकै हुन्छन् ।

रिसाउनु मानवीय संवेगको एउटा स्थिति हो । शरीरभित्र र बाहिर यसले हानि नै गर्छ । रिसाएको बेला हाम्रो मुटुको गति तीव्र हुन्छ, श्वासप्रश्वास अनियमित हुन्छ । शरीरमा कतिपय यस्ता रसायन पैदा हुन्छ, जसले भित्री अंगको कार्यप्रणालीमा अवरोध पुर्‍याउँछ ।

हाम्रो मस्तिष्कमा एउटा सानो भाग हुन्छ, जसलाई ‘आमिग्डाला’ भनिन्छ । यसलाई रिसको केन्द्र पनि भन्ने गरिन्छ । मान्छेलाई कुनै कुरामा चित्त नबुझ्दा यही भाग सक्रिय हुन्छ र त्यसमा कुनै न कुनै प्रतिक्रिया जनाउन तम्सिन्छन् ।

रिसले बाहिरी रुपमा जुन असर गर्छ त्यो त हामी सबैले देखे, भोगे, झेलेकै कुरा हो । कराउने, झगडा गर्ने इत्यादि रिसकै नतिजा हुन् । संसारमा आठ अर्ब हाराहारीमा मान्छे छन् र सबैसँग यो अवगुण पनि छ । सबै रिसाउँछन् । रिसलाई कुनै न कुनै रुपले व्यक्त गर्छन् ।

यद्यपि कोही सानोतिनो कुरामा रिसाइरहने हुन्छ भने झिना मसिना कुरामा खासै वास्ता नगर्ने हुन्छन् । कोही पटक-पटक रिसाइरहन्छन् भने कोही त्यस्ता हुँदैनन् । कोही रिसाउनासाथ चिच्याउने, तोडफोड गर्ने हुन्छन् भने कोही रिसाएपछि झट्ट प्रतिक्रिया नजनाउने पनि हुन्छन् ।

यो कुरा मान्छेको पृष्ठभूमि, अवस्था र वातावरणमा फरक पर्छ । साथै शारीरिक र मानसिक स्थिति पनि यसमा जिम्मेवार हुन्छ । कतिपय मानसिक समस्याले गर्दा पनि मान्छेलाई रिस उठिरहने हुनसक्छ ।

सारमा बुझ्नुपर्ने के भने रिस हामी सबैलाई उठ्छ । त्यसलाई हामीले फरक-फरक ढंगले व्यक्त गरिरहेका हुन्छौं । त्यसो भए के रिसलाई नियन्त्रण गर्न सक्छौं ? झनक्क रिस उठ्दा त्यसलाई शान्त तुल्याउने कुनै विधि छ ?

जब रिस उठ्छ, तब लामो सास तान्ने, मनपर्ने किताब पढ्ने भन्ने कुरा त्यति व्यावहारिक छैन । यद्यपि हामीले रिसले शरीरको भित्री प्रणाली र बाहिरी रुपमा पार्ने नराम्रो असरलाई बुझ्न सक्यौं भने रिस उठ्ने स्थितिलाई कम गर्न सक्छौं । रिस उठ्ने परिस्थिति र मनस्थितिलाई बदल्न सक्छौं ।

जस्तो हामीलाई के कुराले रिस उठ्छ ? कुन कुरामा हामी बढी रिसाउँछौं ? यो कुरा पहिल्याउन सकिन्छ । अतः त्यस्ता कुराहरुलाई हामीले बेवास्ता गर्न सक्छौं, जसकारण हामीलाई रिस उठ्छ । साथै त्यस्तो परिस्थिति सिर्जना हुनै दिंदैनौं ।

रिसाउने मान्छेमा मुटुरोगको जोखिम बढी हुन्छ । यसले उच्च रक्तचाप जस्तो कतिपय दीर्घरोग पैदा गर्छ । विभिन्न अध्ययनमा के पाइएको छ भने रिसाइरहने मान्छेको आयु तुलनात्मक रुपमा कम हुन्छ ।

व्यायाम गर्ने, हिंडडुल वा घुमफिर गर्ने, योग ध्यान गर्ने, पुस्तक पढ्ने अभ्यासले रिसको स्थिति आउन दिंदैन । अनलाइन खबरबाट

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 1 Minute 62 Views

ताजा समाचार