२०८१ फाल्गुन ६ मंगलवार

झापा गोल्ड कपको छैटौं संस्करण फागुन १९ गतेदेखि

झापा, फागुन ९ । मोफसलको चर्चित र लोकप्रियमध्ये अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्ड कपको छैटौं संस्करणको फागुन १९ गतेदेखि सुरु हुँदैछ । प्रतियोगित फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ । अध्यक्ष बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा-११ एफसीले सहभागिता जनाउनेछ ।

त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड कप खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए ।

ट्रफी र टिम सार्वजनिक कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीलगायतको सहभागिता रहेको थियो ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 1 Minute 173 Views

ताजा समाचार