२०८१ बैशाख २१ शुक्रबार

एकीकृत समाजवादीको अध्यक्षको उम्मेदवार बन्ने खनालको संकेत

झापा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आउने महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका छन् । उनले अब जसको नीति हो त्यसकै नेतृत्व हुनुपर्ने भन्दै पार्टी अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका हुन् ।

झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो संकेत गरे । ‘म व्यक्तिवादी कुरा गर्दिनँ । हाम्रो महाधिवेशनले के नीति पारित गर्छ । त्यसलाई हेर्छौँ । जसको नीति हुन्छ उसले नै नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘नीति र नेतृत्वबिच समन्वय हुनुपर्छ ।’ उनले वामपन्थी पार्टीबीच एकता हुनुपर्ने बताए ।

खनालले सरकारप्रति एकीकृत समाजवादी असन्तुष्ट रहेको बताए । उनले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘ सरकारको काममा सन्तुष्ट हुने ठाउँ छैन । सरकारको बजेट र नीतिले जनतालाई छोएको छैन । जसले जनतामा असन्तुष्ट कायमै छ । जनतामा आक्रोश देखा परेको छ,’ उनले भने, ‘हाम्रो दुई मन्त्री छन् । तर, मन्त्रालयमा बजेट छैन,गठबन्धन जसरी चल्नुपर्ने त्यसरी चलेन । व्यापक असन्तुष्ट छौँ ।’देशमा परिवर्तन चाहने शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको खनालले बताए ।

सुवास नेम्वाङको निधनपछि इलाम–२ को उपनिर्वाचनमा खनालको पनि चर्चा हुँदै आएको छ । खनालले भने आफूले निर्णय गरी नसकेको र उपयुक्त समयमा निर्णय लिने बताए ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 0 Minutes 103 Views

ताजा समाचार