२०८१ जेष्ठ ६ आईतवार

कांग्रेस महासमिति बैठक : महासमिति सदस्य गुरुङले भनिन्, ‘महामन्त्रीको प्रतिवेदन किन विभाजित ?’

ललितपुर । नेपाली कांग्रेसकी महासमिति सदस्य एवं संविधानसभा सदस्य उषा गुरुङले कोशीमा कांग्रेसको भागमा परेको मुख्यमन्त्री कांग्रेसले लिँदा केन्द्रीय नेतृत्वलाई किन टाउको दुःखेको भन्दै प्रश्न गरेकी छन् ।

उनले महामन्त्रीको प्रतिवेदनमा आएको कोशी प्रकरण आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल सच्याउनसमेत माग गरिन् ।

जारी महासमिति बैठकमा प्रतिवेदन माथिको छलफलमा धारणा राख्ने क्रममा गुरुङले कांग्रेसलाई भाग लागेको मुख्यमन्त्री पद माओवादीलाई सुम्पिने नेतृत्वहरुलाई किन कारबाही गर्न नसकेको भन्दै प्रश्न गरिन् । महामन्त्रीहरुको प्रतिवेदन एकमतका साथ आउनुपर्नेमा विभाजित भएर आएको भन्दै उनले आलोचना गरिन् ।

‘पार्टीभित्र हारेकाहरुलाई मात्र पटक–पटक पद र अन्य अवसर दिने हो भने पार्टीभित्र न्याय र समानता कसरी हुन्छ ?’, गुरुङले प्रतिप्रश्न गरिन् ।

‘केन्द्रीय सदस्य पदमा मनोनित गर्नु नै छ भने महाधिवेशनमा भाग लिन नदिउँ न, केन्द्रीय समितिमा हार्ने अनि फेरि मनोनित ? यो मानमर्दन भयो, न्याय अन्याय छुट्याउनुपर्छ, यसको जवाफ नेतृत्व तहबाट आउनुपर्छ ।’, उनको प्रश्न थियो ।

धर्म र जातको आगो लगाएर देश जलाउने काममा सांसदसमेत रहेका केन्द्रीय सदस्यहरु नै लागिपरेको भन्दै गुरुङले आक्रोश व्यक्त गरिन् । देश कुनै जात र धर्म विशेषको मात्र नभएको स्मरण गराउँदै उनले कोशी प्रदेशको नामकरणबारे आपत्ति प्रकट गरिन् ।

संविधान विरोधी बन्न नहुने र देशलाई एकल धर्म र जाति विशेषको मात्रै भनेर नबुझ्न उनले सचेत गराइन् । ‘खोला र पहाड मात्रै देश हो भनेर बुझ्नु हुँदैन’, गुरुङले भनिन् । प्रदेशको नाम हतार गरेर कोशी राखिएको भन्दै उनले पहिचानलाई आत्मसात गरी नामकरण गरिनुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्यकै अगुवाईमा देशलाई जातिय र धार्मिक द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेकोप्रति उनले आक्रोश व्यक्त गरिन् ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 0 Minutes 370 Views

ताजा समाचार