२०८१ बैशाख २१ शुक्रबार

कमाण्ड होइन, डिमाण्ड पोलिटिक्स आवश्यक छ : प्रा डा बराल

धुलाबारी । प्रा डा लोकराज बरालले नेपालको जस्तो बलियो लोकतन्त्र दक्षिण एशियामै कतै पनि नभएको बताएका छन् ।

मंगलवार झापाको मेचीनगर लेडी जेसीजले धुलाबारीमा आयोजना गरेको ‘वर्तमान राजनीति र अबको बाटो’ विषयक अन्तक्र्रियामा उनले भने, ‘तर, यसको असल अभ्यास भने भएकै छैन ।’

बेलायतले गरिरहेको लोकतन्त्रको असल अभ्यासबारे चर्चा गर्दै बरालले नेपालमा ‘कमाण्ड पोलिटिक्स’ हावी हुँदा लोकतन्त्रको असल पक्ष ओझेल परेको दाबी गरे ।

“हाम्रोमा कमाण्ड पोलिटिक्सको अभ्यास छ,” कमाण्ड र डिमाण्ड पोलिटिक्सको अन्तर केलाउँदै बरालले थपे, “डिमाण्ड हुँदा दबाव हुन्थ्यो र, त्यसको सकारात्मक प्रभाव देखापर्थ्यो ।” नेपालमा धेरै पार्टीहरु भए पनि समाज परिवर्तनका लागि कसैले पनि चासो र चिन्ता नदेखाएको उनको आरोप थियो ।

“हामी अहिले जनताको शासनतन्त्रमा छौं, राजनीतिमा नयाँ अनुहार पनि देखापरेका छन्”, बरालले भने, “उनीहरुको प्रतिबद्धता के मा छ ? हिन्दू राष्ट्र कि धर्मनिरपेक्षता ?, यी र यस्तै विषयले अर्थ राख्छ ।”

जनतामा राजनीतिक चेतनाको स्तर क्रमशः विकसित भइरहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रको कहिलेकाहींको नकारात्मक भूमिकाले व्यवस्थाबारे गलत सन्देश प्रवाह हुने गरेको बताए । ‘गणतन्त्र हाम्रो व्यवस्था हो, हाम्रो एउटा अंग हो, यसलाई काटेर फ्याँक्ने भन्ने कुरा हुँदैन, रक्षा गर्न आवश्यक छ ।’, बरालले भने ।

धर्म र राजनीति नितान्त दुई फरक पाटो भएकाले धर्मलाई राजनीतिकरण गर्न नहुनेमा उनको जोड थियो । “हाम्रो सरोकार व्यवस्थासँगको हो, गणतन्त्रसँग हो, नेतृत्वमा हेरफेर भइरहन्छ”, बरालले भने, “कुन पार्टी भन्ने भन्दा पनि नेतृत्व कस्तो छ, त्यो चाहिं सोच्ने विषय हो ।”

संघीयता, गणतन्त्र, लोकतन्त्रको रक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले गणतन्त्रको गति बढिरहने, नरोकिने र नफर्किने ठोकुवा गरे । त्यस्तै, अर्का वक्ता प्राध्यापक कृष्ण खनालले राजनीति सधैं विवाद र आलोचनाको केन्द्रमा हुने बताए ।

“राजनीति सधैं अचानोमा हुन्छ, राजनीतिको गति बुझ्न समय पर्खिनुपर्छ”, उनले थपे, “आज बिग्रियो भनेर सबै बिग्रियो भन्न मिल्दैन, २०४८ देखि ०५१ मा धेरै काम भएको रहेछ अहिले भनिन्छ ।”

समयको अन्तरालमा मात्रै राजनीतिको मूल्यांकन गर्न सकिने विचार राख्दै खनालले संसारमा समाज सधैं अग्रगतिमै हुने र मान्छेको सोच्ने शैली परिवर्तन भइरहने ठोकुवा गरे ।

१२ देखि १५ वर्षमा भएको झापाको भौतिक प्रगतिलाई उल्लेख्य देखेका उनले भने, ‘यो प्रगति जनजीवनसँग, अर्थतन्त्रसँग कसरी जोडिएको छ ?, त्यो चाहिं मूल कुरा हो।’

नेताको दृष्टिकोण स्पष्ट हुनुपर्ने धारणा राखेका खनालले पार्टीको अनुकूलताका आधारमा चलेको कूटनीतिले देश नचल्ने दाबी गरे । भारत र चीनबाट चेपिएको नेपालमा दुई देशबीच कूटनीतिक सन्तुलन कायम राख्नसक्ने नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिए ।

लोकतन्त्रमा पार्टी कहिल्यै पनि नहार्ने बरु नेतृत्वको कलाले चाहिं बेलाबखत पराजय व्यहोर्ने गरेको खनालको भनाइ थियो ।

‘नेतृत्व भनेको आवधिक काम हो, मतदाताले चाहेमा राजनीतिको कोर्स करेक्शन गर्नसक्छन्, नेता तह लाग्छन्, उम्मेदवार छान्दा विवेक पुर्याउनुपर्छ ।’, उनले भने । विभिन्न राजनीतिक दल, संघ–संस्था, शिक्षक, सञ्चारकर्मीलगायत सहभागी कार्यक्रममा कृष्ण हाछेथुले विचार राखेका थिए ।

आयोजक जेसीजकी अध्यक्ष पवित्रा प्रसाईंको अध्यक्षतामा भएको अन्तक्र्रियामा स्वागत कार्यक्रम संयोजक शर्मिला दाहाल र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 0 Minutes 205 Views

ताजा समाचार