२०८१ बैशाख २१ शुक्रबार

झापामा विद्युत् प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्ने एक युवक पक्राउ

झापा । नेपाल विद्युत् प्राधिकरणको कर्मचारी बताउँदै ग्राहक ठगी गर्दै हिँडेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २० वर्षीय राजेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा विद्युत् प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्दै, सजग रहन आग्रह भन्ने शीर्षकमा टाइम्स अफ प्रदेशले समाचार प्रकाशन गरेको थियो । ती युवकको फोटोसहितको समाचार प्रकाशन भए लगतै स्थानीयले उनलाई पक्राउ गरी प्रहरी चौकी बिर्ता बजार बुझाएको थियो । राजवंशी प्राधिकरणको कर्मचारी भन्दै ग्राहकमा पुगेपछि स्थानीयले उनलाई समातेका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विद्युत् प्राधिकरण अनारमनि वितरण केन्द्रअन्तर्गत बिर्तामोड, शनिश्चरेलगायतका स्थानहरूमा केही दिनयता “नेपाल बिद्युत् प्राधिकरणको कर्मचारी हुँ” भन्दै ग्राहकसँग प्राधिकरणको महसुल, मिटर शुल्क, ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्क लगायतका प्राधिकरण सम्बद्ध भुक्तानीका लागि नगद लिई ठगी गर्ने कार्य बढेको थियो ।

त्यस कार्यमा अपरिचित व्यक्ति संलग्न भएको र ग्राहक ठगिएको गुनासो आउन थालेकोले कुनै पनि प्राधिकरण सम्बद्ध भुक्तानी अनलाइन वा प्राधिकरणको आधिकारिक महसुल भुक्तानी काउन्टरबाट मात्र गर्न अनारमनि वितरण केन्द्रले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको थियो ।

२०८० फाल्गुन ७, सोमबार प्रकाशित 1 Minute 145 Views

ताजा समाचार