काठमाडौं । आजदेखि शुक्रवारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमवारदेखि शुक्रवारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो ।
पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीवारदेखि शुक्रवारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।
महाशाखाका अनुसार बिहीवार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।
‘धेरै घट्ने होइन तर, तुलनात्मक रूपमा अधिकतम र न्यूनतम तापक्रम घट्छ । त्यसले चिसो केही मात्रामा बढाउन सक्नेछ,’ मौसमविद सरोज पुडासैनीले भने । त्यसको प्रभावले काठमाडौं उपत्यकामा पनि मौसम बदली रहने र तापक्रम केही घट्ने उनले बताए ।
तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिवारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । सेतोपाटी