२०८१ बैशाख २१ शुक्रबार

शिवसताक्षीमा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, दुई जना घाइते

झापा । झापामा अटोले दुई वटा साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका- ८ स्थित सम्झना चौकमा मे १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी-८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा शीतलका बुवा दिलीप श्रेष्ठ र उनका दिदी ११ वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन् । एउटा साइकलमा शीतल र उनका बुवा दिलीप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन् । पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते बुबा छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक शिवसताक्षी- ८ का ५२ वर्षीय पूर्णबहादुर भट्टराई मदिराले लट्ठ भएर मातेका थिए। अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

२०८० फाल्गुन ७, सोमबार प्रकाशित 1 Minute 104 Views

ताजा समाचार