२०८१ बैशाख १४ शुक्रबार

स्वतन्त्र पार्टीबाट को-को हुँदैछन् मन्त्री?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्।

सभापति रवि लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

सत्ता साझेदार दलहरूको बैठकमा रास्वपालाई गृह, शिक्षा र श्रम मन्त्रालय दिने समझदारी बनेको छ। साथै एक राज्यमन्त्री पनि रास्वपाले पाउनेछ।

तर कुन राज्यमन्त्री पाउने अहिलेसम्म निश्चित भइसकेको छैन।

रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल टिच फर नेपालका संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने रास्वपाको तयारी छ। अर्याल पार्टीका उपसभापति हुन्। धादिङका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।

उनी रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए। सोही अनुभवका आधारमा उनलाई श्रम मन्त्री बनाउन लागिएको छ।

रास्वपाले एक राज्यमन्त्री पनि पाउने भएको छ। पार्टीका एक पदाधिकारीका अनुसार राज्यमन्त्री कुन पाउने भन्ने टुंगिएपछि कसलाई पठाउने भन्ने निर्णय गरिनेछ।

रास्वपाको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा सभापति लामिछानेलाई नै दिएको थियो। ‘सभापतिज्यूले क-कसलाई मन्त्री बनाउने निर्णय सुनाइसक्नुभएको छैन,’ ती पदाधिकारी भन्छन्, ‘आज ९ बजेपछि उहाँले मन्त्री हुनेहरूको नामबारे पार्टीका सांसदहरूलाई जानकारी गराउने सम्भावना छ।’

रास्वपाले उपसभामुख पनि पाउने भएको छ। सभामुखमा पुरूष वा महिला कसलाई पठाइन्छ त्यो हेरेर रास्वपाले कसलाई उपसभामुख पठाउने भन्ने निर्णय गर्ने ती पदाधिकारी बताउँछन्।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्। सेतोपाटीबाट

२०७९ माघ ३, मंगलवार प्रकाशित 1 Minute 252 Views

ताजा समाचार