२०८१ भाद्र २३ आईतवार

सीमामा प्रहरी निगरानी : २ करोड बढीका अवैध सामान पक्राउ

काँकरभिट्टा । सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि खटिएको प्रहरीले एक वर्षे अवधिमा २ करोड बढी मूल्य बराबरका अवैध सामान पक्राउ गरी आवश्यक कार्बाहीका लागि मेची भन्सार कार्यालय दाखिला गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले सो अवधिमा २ करोड २ लाख १७ हजार ९ सय १३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।

प्रनाउ भारतीले २०७९ माघ २६ गते कार्यालयको नेतृत्व सम्हालेयता हालसम्म भन्सार छलेर भित्र्याइएका उक्त मूल्य बराबरका सामान भन्सार बुझाइएको हो । प्रहरीले राजस्व नतिरी सामान ल्याएका ३ वटा सवारीसाधनसहित त्यसमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर भन्सारको जिम्मा लगाएको छ ।

प्रहरीका अनुसार जाँचका क्रममा नियन्त्रणमा लिइ भन्सार दाखिला भएका सवारीसाधनहरुमा एउटा ट्रक, एउटा कार र एउटा टाटा पिकअप छन् । त्यसक्रममा प्रहरीले सुपारी, मोवाइल फोन, किराना सामान, पशुचौपाया, लत्ताकपडा, झोला, सुर्तीजन्य पदार्थ, खाद्य पदार्थ, कस्मेटिक सामानलगायत नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले सीमावर्ती पूर्वी नाकासहित विभिन्न स्थानमा भारतबाट ल्याइने सामानको जाँचमा कडाई गर्दै आएको छ । अवैध सामान भित्रिन नदिन निगरानी बढाइएको प्रहरीले दाबी गर्दै आए पनि भारतमा उत्पादन भएका तर, नेपालमा प्रतिबन्धित सामान नेपाली बजारहरुमा छ्याप्छ्याप्ति पाइने गरेको छ ।

भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाकासहित अन्य स्थानमा बर्दी र सादा पोशाकमा परिचालित प्रहरीले अवैध सामानमाथि सुक्ष्म निगरानी गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।

तर, राजस्व असुलीमा भन्सार कार्यालयले लिएको लक्ष्य हासिल नहुनु, खुला सीमाको फाइदा उठाउँदै ल्याइएका भारतीय सामान नेपाली गाउँ, शहर तथा बजारहरुमा जतासुकै भेटिनुलाई राज्य संयन्त्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसकेको आम नागरिकको टिप्पणी छ ।

२०८० फाल्गुन ६, आईतवार प्रकाशित 0 Minutes 466 Views

ताजा समाचार