काँकरभिट्टा । सर्वसाधारण नागरिकले समयमा महसुल नबुझाउँदा जरिवानासहितको शुल्क लिने स्थानीय तहले नै विद्युत महसुल बापतको करोडौं रकम नबुझाएको खबर सार्वजनिक भएको छ ।
देशकै सबैभन्दा ठूलो झापाको मेचीनगर नगरपालिकालाई सडकबत्ती बापतको २ करोड ९५ लाख ४८ हजार रुपैयाँ बढी रकम भुक्तानी गर्न नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले पत्राचार गरेपछि यो सूचना बाहिरिएको हो ।
सडकबत्ती बापतको बाँकी बक्यौता चाँडो बुझाउन उक्त नगरपालिका कार्यालयलाई फेरि पत्र पठाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख ज्ञान काफ्लेले बताए । विद्युत प्राधिकरणले लामोसमयदेखि सडकबत्ती बापतको ठूलो रकम बुझाउन पटक–पटक पत्र पठाउँदै आएको छ ।
यता, मेचीनगर नगरपालिकाले भने प्राधिकरणले पठाएको पत्रको जवाफ दिएको छैन ।