२०८१ भाद्र २३ आईतवार

कांग्रेस महासमिति बैठक भोलिदेखि, जिल्ला सभापतिले पनि भाग लिन पाउने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमवार) देखि सुरू हुने भएको छ ।

सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमवार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने भएका छन् । महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

महासमिति बैठकबारे जानकारी दिन आइतवार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलन हुने उनले जानकारी दिए । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ ।

खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि पेश गर्नेछन् । ‘उपसभापतिको प्रस्ताव छपाइका लागि प्रेसमा दिइसकिएको छ,’ उनले भने, ‘महामन्त्रीद्वयको बाँकी छ ।’

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन् । पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन् ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन् ।

महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ । महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन ।

कांग्रेसले कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न सकेको छैन । छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद देखिएको छ । कांग्रेस महासमिति बैठक नीति बनाउन केन्द्रित रहनेछ । सेतोपाटी

२०८० फाल्गुन ६, आईतवार प्रकाशित 0 Minutes 83 Views

ताजा समाचार