काँकरभिट्टा । बिहान झिस्मिसे अघि नै उठ्नु र रात नछिप्पिउञ्जेल पान बेच्नु उमेरले ३ कोरी नाघेकी सोममाया तामाङको दिनचर्या नै बनेको छ ।
उनले ३५ वर्षे झर्झराउँदो उमेरदेखि काँकरभिट्टा बजारमा पान पसल गर्न थालेको पनि ३५ वर्ष नै पुगेको छ । “सधैं बिहान साढे ३ बजे उठ्छु र साँझ ७ बजेसम्म पसल राख्छु” उनले भनिन्, “छोरीले खाना र खाजा बनाएर यतै ल्याइदिन्छे ।”
भाडाको कोठामा बसेर फूटपाथ व्यापारमा होमिएकी वयोवृद्धा तामाङ काँकरभिट्टा बसपार्कमा बिहान पसल थाप्नेमध्येकी पहिलो हुन् । बिहानको रातिनै बसपार्कमा सानो काठको टेबलमा पान, बिस्कुट, चकलेट, चाउचाउ, पेय पदार्थलगायत फिँजाएर रातपरुञ्जेल बेच्दै बस्छिन्, उनी ।
उमेर ढल्किसक्दासमेत पहिले झैं फूर्तिली र जांगरिलि देखिने तामाङका अधिकाँश ग्राहक यातायातका कर्मचारी, मजदूर र स्थानीय नै हुन्, अरु चाहिं बेलाबखत ओहोरदोहोर गर्ने यात्रु । ‘पहिल्यैदेखि नै यही काम गरेँ, यही गर्ने बानी पर्योे, यत्रो वर्ष भो थालेको, गुजारा चलेकै छ, यही गरिरहन्छु’, पाको उमेरकी उनी भन्छिन् ।
काँकरभिट्टा बजारको फूटपाथ व्यापारमा जमेर लागेकी अर्की व्यापारी हुन्, थिक्च्याङ भोटे (वर्ष ५५) ।
संखुवासभाको भोटतोला गाउँपालिकाकी उनले फूटपाथमा कहिले नाङ्लो त कहिले बोरा ओछ्याएर जडीबुटी औषधि बेच्न थालेको वषौं नाघेको छ । संखुवासभासहित अन्य पहाडी जिल्लाबाट खोजीमेली ल्याएको जडीबुटी बेच्न भोटे बाह्रैमास सडक किनारमा बस्छिन् ।
‘झण्डै ५० प्रकारका जडीबुटी बेच्छु, गाउँमै एउटा सानो घर बनाएको छु, खान, लाउन, छोराछोरी पढाउन सबैखर्च यसैले धानेको छ’, कुराकानीका क्रममा उनले भनिन् ।
बाबुबाजेको पालादेखि नै गर्दै आएको यो पुस्तौनी पेशा पहिले गाउँघरतिरै गर्ने गरेको बताउँदै भोटे भन्छिन्, ‘बिहान ६ देखि १० बजेसम्ममा व्यापार थाल्छु र बेलुका ३ देखि ६ बजेसम्म गर्छु ।’ जडीबुटी व्यापारलाई नै सपना र विपना बनाएकी उनले दुई जना छोरीहरुलाई कक्षा ११ र १२ अनि एक छोरालाई कक्षा ९ मा पढाइरहेकी छन् ।
भोटे झैं ५३ वर्षीया भगवती सुन्दासले पनि काँकरभिट्टा बजारमा फूटपाथ व्यापार शुरु गरेको २५ वर्ष भयो । खोटाङको दिक्तेलबाट झापा झरेर ठेलामा फलफूल बेचेरै जीवीका चलाउँदै आएकी उनी भन्छिन्, ‘सिजन अनुसारका फलफूल बेच्छु, कसैको आश र भरोसा छैन, आफ्नै बलबुतामा बाँचेकी छु ।’
सुन्दासका अनुसार दुईछोरीमध्ये एक जनाको बिहेदान भएको र अर्की पढ्दैछिन् । १ हजार रुपैयाँ लगानी गरी सडकपेटीमा शुरु गरेको व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले थपिन्, ‘नगरी हुँदैन, बाध्यता छ, यही पेशा जानियो, गर्ने परो नि ।’
बिहान ६ देखि बेलुका ८ बजेसम्म सधैं ठेलामा व्यापार गर्दै आएकी सुन्दासले व्यापारका लागि साहूले २५ हजार रुपैयाँसम्मको सामान बाँकी पत्याउने गरेको सुनाइन् ।
मेचीनगर–६ स्थित कालीखोला छेउको १२ धुर जग्गामा एउटा सानो झुप्रो घर बनाएकी उनले भनिन्, ‘बेच्दै ऋण तिर्दै गर्छु, आएको मुनाफा घर खर्च छुट्याउँछु ।’
खाईजीवीका चलाउन आफ्नो परिवारै मधेश ओर्लिएको बताउँदै सुन्दासले भनिन्, ‘दृष्टिविहीन बुवासँगै यतै थियौं, आफू आँखा नदेखेर पनि हुर्काएर बढाउँदै पढाउँदै संसार देखाउनुभो, बुवाका दाजुभाइ थिएनन्, सक्दो स्याहारचाकर गरें, भर्खरै खस्नुभो ।’
तामाङ, भोटे र सुन्दास त फूटपाथ व्यापारका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता असंख्य व्यवसायीहरु काँकरभिट्टाको बजार, चोक र गल्लीहरुमा सुखी जीवनका लागि संघर्ष गरिरहेका छन् ।
यहाँ संघर्षरत देशका विभिन्न जिल्ला र सीमा पारिका नागरिकले काँकरभिट्टालाई संघर्ष र सुखको शहरका रुपमा स्वीकार्दै आएका छन् । कहिलेकाहीं फूटपाथ व्यापारीहरुलाई संकेत गर्दै राज्यपक्षबाट अपहेलना र विस्थापित गर्न विभिन्न हर्कत गर्ने गरिएका घटनाहरु पनि प्रशस्त छन् ।
राज्यले जीवीकोपार्जनका लागि सडकपेटीलाई आधार बनाएर गुजारा चलाइरहेका नागरिकको समुचित व्यवस्थापनसँगै उनीहरुको रोजीरोटीका लागि आवश्यक सहयोग जुटाउन आवश्यक छ ।