
झापा । प्रहरीले प्रतिबन्धित लागुऔषधको सेवन र ओसारपसारमा संलग्न ४९ जना भारतीयसहित ८ सय ४६ जनालाई पक्राउ गरी आवश्यक कार्बाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले मातहतका प्रहरी युनिट र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेकाहरुमा ८ जना भारतीय र ७२ जना नेपाली महिला छन् ।

आव २०७८/०७९ मा उक्त प्रतिबन्धित पदार्थको प्रयोग र कारोबार गर्ने ३ सय ७ जना पक्राउ परेकामा त्यो संख्या आव २०७९/०८० मा २९ ले बढेर ३ सय ३६ पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, चालु आव २०८०/०८१ को माघ अन्त्यसम्ममा भने दोस्रो आवमा पक्राउ पर्नेको संख्या १ सय ३३ ले घटेर २ सय ३ पुगेको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
यी तीन आवको तथ्यांक अनुसार पक्राउ परेका भारतीय नागरिकमध्ये सबैभन्दा धेरै पहिलो आवमा २० र सबैभन्दा कम तेस्रो आवमा १२ जना छन् भने दोस्रो आवमा १७ जना छन् ।
जिल्ला प्रहरी प्रमुख रेग्मीका अनुसार आवको यो तीन अवधिमा लागुऔषध सेवन तथा ओसारपसार सम्बन्धी ५ सय ४१ वटा मुद्दा दर्ता भएमध्ये ५ सय ४० वटा फस्र्यौट भएका छन् भने एउटा फस्र्यौट हुन बाँकी छ ।
त्रिवर्षीय तथ्यांकले देखाए अनुसार सबैभन्दा बढी मुद्दा दोस्रो आवमा २ सय ६ र सबैभन्दा थोरै तेस्रो आवमा १ सय ३५ तथा पहिलो आवमा २ सय वटा दर्ता भएका छन् ।
पक्राउ गरिएकाहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगर, लुपिजेसिक, डाइजापाम, फेनारगन, नाइट्रोसन, नाइट्राभेट, अफिम, चरेस, गाँजालगायत लागुऔषध बरामद गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले आव २०७८/०७९ मा १ किलो ५ सय २० मिलिग्राम, आव २०७९/०८० मा १ किलो ५ सय ५८ ग्राम ४ सय ५९ मिलिग्राम र आव २०८०/०८१ मा १ किलो २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
प्रहरीले यो अवधिभर लुपिजेसिक ७ सय ८२ एम्पुल, डाइजापाम ६ सय ३ एम्पुल, फेनारगन ६ सय ३६ एम्पुल, डाइजेल्याब नाइट्रापाम १२ सय १२ चक्की, नाइट्रोसन ३ सय ७१ चक्की, नाइट्राजेपाम २ सय २ चक्की, लेबल नभएको ६ एम्पुल, नाइट्राभेट १८ सय २ चक्की र इस्कफ ७८ बोतल बरामद गरेको छ ।
त्यस्तै, सोही अवधिमा इस्पाजमपियो भिन १ हजार २३ क्याप्सुल, कोरेक्स ७ बोतल, चान्जेट १ सय ७६ चक्की, गाँजा ३९ किलो ५ सय ५० ग्राम ३२ मिलिग्राम, अफिम ११ ग्राम, चरेस ६ ग्राम २ सय ६० मिलिग्राम, आइकोरक्स ७ बोतल, एल्टोरेक्स ५ बोतल, फस्फेटट्या ब्लेट ४ सय ८, ट्यान्ड्रोल ९ सय ५२ र आईपी ५ चक्कीलगायत बरामद भएको छ ।
प्रहरीले जाँचका क्रममा सीमा नाकासहित जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सेवनकर्ता र बेचबिखन गर्नेलाई पक्राउ गरी ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिने गरेको छ ।
लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निकायले बर्दी र सादा पोशाकका प्रहरी परिचालन गर्दै आएको छ । तर, भारतसँग जोडिएको खुला सीमाको फाइदा उठाउँदै सेवनकर्ता र कारोबारीले प्रहरीको आँखा छलेर लागुपदार्थ भित्र्याउने गरेका छन् ।
कारोबारीहरुले गलत बाटोको प्रयोग गर्दै भारतबाट ल्याउने गरेका प्रतिबन्धित लागुऔषध देशका विभिन्न शहर बजारमा पुर्याउने गरेका छन् । समाजलाई लागुऔषध दुव्र्यशनमुक्त बनाउन मेची सामुदायिक सेवा केन्द्रसहित सम्बद्ध विभिन्न संघ–संस्थाले जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।
लागुऔषध कारोबारको जालो तोड्न सुरक्षा निकायलगायत विभिन्न पक्षबाट अनेक प्रयास गरिए पनि ती सबैखाले प्रयत्न विफल हुँदै आएका छन् । छिमेकी मुलुक भारतका सीमावर्ती बजारमा विशेषगरी नेपालीहरुलाई लक्षित गरी लागुऔषध खुलेआम विक्री वितरण हुँदै आएको छ ।
तर, यस्तो जघन्य प्रकृतिको अपराध भइरहँदासमेत त्यहाँस्थित प्रहरी प्रशासन मौन रहँदै आएको छ ।