
काँकरभिट्टा । विभिन्न घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्बाही प्रक्रिया अघि बढाएको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पछिल्लो ७ महिने अवधिमा भएका विभिन्न आपराधिक घटनामा संलग्न ७९ जनालाई पक्राउ गरी कार्बाही गरेको हो ।

यो वर्षको साउनदेखि माघसम्म भएका १२ वटा शीर्षकका मुद्दामा ७९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको कार्यालयको अपराध अनुसन्धान तथा कार्बाही शाखाले जनाएको छ ।
मेचीनगर नगरपालिका वडा नम्बर १ देखि ८ सम्म भएका विभिन्न आपराधिक घटनामा संलग्नमध्ये सबैभन्दा बढी मेचीनगर–६ का ५६ जना र सबैभन्दा कम मेचीनगर–४ का १ जना छन् ।
कार्यालयको मुद्दा शाखाका अनुसार लागुऔषधतर्फ २४, जबर्जस्ती करणीतर्फ ५, अभद्र व्यवहारतर्फ ३७, बालयौन दुरुपयोगतर्फ ३ र चोरीतर्फका घटनामा ३ जना पक्राउ परेका हुन् ।
त्यस्तै, सवारी अंगभंगतर्फ २, बैंकिङ कसुरतर्फ २, ज्यान मार्ने उद्योगतर्फ १, कर्तव्य ज्यानतर्फ १ र आपराधिक प्रवेश, आपराधिक उपद्रवतर्फ १ जनालाई पक्राउ गरिएको कार्यालयको मुद्दा फाँटले जनाएको छ ।
यसैगरी, सोही अवधिमा मेचीनगर–१ मा २, वडा नम्बर ३ मा ५, वडा नम्बर ६ मा ३, वडा नम्बर ७ मा २ र वडा नम्बर ८ मा ४ गरी १६ जनाले झुण्डिएर आत्महत्या गरेका शाखाको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, उक्त अवधिभित्रै मेचीनगर–५ मा २ र वडा नम्बर ६ मा १ जना गरी ३ जनाको डुबेर मृत्यु भएको अभिलेख कार्यालयको मुद्दा फाँटमा छ ।
भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको यो क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च सर्तकता अपनाउँदै शान्ति सुरक्षा एवं अमनचयन कायम राख्न प्रहरी प्रतिबद्ध रहेको कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।