२०८१ बैशाख ७ शुक्रबार

मन्त्रीको टुंगो लगाउन ३ घण्टादेखि बालुवाटारमा सत्ता साझेदार दलको बैठक

झापा । मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक ३ घण्टादेखि जारी रहेको छ । साँझ पौने ६ बजेदेखि सुरु भएको बैठक पौने ९ बजेसम्म पनि जारी रहेको हो । बैठकमा मन्त्रीको टुंगो लगाउनुका साथै सभामुख, उपराष्ट्रपतिको चयनलगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

सत्ता साझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । बालुवाटार बैठकले प्रचण्ड र ओलीबीच मन्त्रीहरुको भागबण्डाका विषयमा भएको भनिएको सहमतिलाई अन्तिम रूप दिइने नेताहरुको भनाइ छ ।जसअनुसार सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित सबैभन्दा बढी ८ मन्त्रालय पाउनेछ । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २-२ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी भएको छ । लोसपालाई पनि एउटा मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको बुझिएको छ । सरकारमा सहभागी हुन तयार भएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत एक मन्त्रालय दिएर ल्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड र ओली लागेको बताइन्छ ।

सबै साना दललाई पनि सरकारमा सहभागी गराउँदा राष्ट्रपति निर्वाचनमा सहज हुने बुझाइ सत्तारुढ दलको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।

प्रधानमन्त्रीमा १० पुसमा नियुक्त भएर प्रचण्डले ११ पुसमा सपथ लिएका थिए । शपथ लिएकै दिन उनले अरू तीन मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । चार मन्त्रीलाई जिम्मेवारी नतोकेका प्रचण्डले २१ दिनपछि बल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

२०७९ माघ २, सोमबार प्रकाशित 1 Minute 417 Views

ताजा समाचार