२०८१ माघ ७ सोमबार

संविधानसभा सदस्य कोइरालाले भने, ‘यातायातका बेथिति अन्त्य गर्न प्रालिको नेतृत्वले अग्रसरता लिओस्’

काँकरभिट्टा । पूर्व मेची बस व्यवसायी प्रालि काँकरभिट्टाको चौथो वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिलाई शपथ ग्रहणसँगै पद हस्तान्तरण गरिएको छ ।

संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा बुधवार प्रालिको सभा हलमा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक मोहनप्रकाश उप्रेतीले शपथ ग्रहण गराएका हुन् ।

त्यसक्रममा मेचीनगर नगरपालिकाका संस्थापक प्रमुखसमेत कोइरालाले यातायात क्षेत्रका विद्यमान बेथिति अन्त्य गर्न समितिले नीतिगत निर्णय गरी कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विशिष्ट अतिथि कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले यातायात क्षेत्रमा देशभर छुट्टै छाप छोडेको मेची बस व्यवसायी संघ प्रालिमा रुपान्तरण भए पनि पुरानो विरासत जोगाउन उत्तीकै लागिपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले यात्रुबाट लिइने सवारीको भाडा दरमा एकरुपता नहुनु, यात्रु तानातानलगायत विकृति अझै रहेको उल्लेख गर्दै त्यसमा अविलम्ब सुधारको खाँचो औंल्याए ।

“पूर्वी नाकाबाट मान्छे आएनन् भनेर मात्रै हुँदैन, पहिला यात्रु भित्रिने वातावरण बनाउनुपर्छ”, कार्यक्रममा निवर्तमान नगरप्रमुख विमल आचार्यले भने, “बस पार्क र बस टर्मिनललाई व्यवस्थित गर्नुपर्छ, अध्यागमन खुला गर्नुपर्छ ।”

यस्तै, काँकरभिट्टा बस टर्मिनल तथा प्यारिभिट्टा बस पार्क व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेले पूर्वी नाकाको भद्रगोल अवस्था साम्य पार्न प्यारिभिट्टा बस पार्क सुचारु भइसकेको जानकारी गराए ।

त्यसैगरी, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले पर्यटनसँग सम्बन्धित क्षेत्र यातायात, होटल, ट्राभललगायत तहसनहस बन्न लाग्दा प्रालिको नयाँ नेतृत्वले आशा जगाएको बताए ।

उनले प्रालिको नयाँ नेतृत्वलाई जतासुकै टिकट काउन्टर राखिँदा बिचौलियाको बिगबिगि बढेर यात्रु ठगिनुपरेको, बजारको अस्तव्यस्ततालगायतका समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका मेचीनगर सभापति सुवेश पनेरुले राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर संस्थागत हितमा दर्बिलो भई अघि बढ्न सुझावसहित शुभकामना दिए ।

यस्तै, नेकपा एमालेका मेचीनगर अध्यक्ष खेमराज पोखरेलले प्रालिको नयाँ नेतृत्वसँग यातायात क्षेत्रका चूनौति सामना गर्दै सुधारको प्रक्रिया अघि बढ्ने अपेक्षा लिए ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) का मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनाले यातायात क्षेत्र पर्यटनसँग सम्बन्धित देश विकासको ठूलो आधार भएको चर्चा गर्दै यातायातमा अझै पनि पर्याप्त सुधार नभएको बताए ।

शपथग्रहणपछि प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठले वर्तमान अध्यक्ष राजेन्द्र रिजाललाई अध्यक्षको ब्याच वितरण गरेका थिए । यसअघि प्रालिको प्रबन्ध निर्देशक रहेका रिजाल यही माघ २६ गते सम्पन्न साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै, लेखा समितिका संयोजक र २ जना सदस्य सर्वसम्मत चयन भए भने कार्यसमितिका १० जना सदस्यहरु चुनावी प्रक्रियाबाट छानिएका हुन् । उनीहरुलाई प्रमुख अतिथि कोइराला र निर्वाचन समिति संयोजक उप्रेतीले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्दै अविर र टीका पहिर्याएर बधाई ज्ञापन गरेका थिए ।

निर्वाचन समिति संयोजक उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सदस्य भूपाल शिवाकोटीले गरेका थिए ।

२०८० फाल्गुन २, बुधबार प्रकाशित 0 Minutes 442 Views

ताजा समाचार