काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा उक्त तथ्यांक उल्लेख छ ।
अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरीबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र शहरमा १८.३४ प्रतिशत रहेको छ । सबैभन्दा धेरै गरीबी सुदूरपश्चिम र कम गरीबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ ।
अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरीबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरीबी देखिएको कार्यालयका उपतथ्यांक प्रमुख हेमराज रेग्मीले बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० नतिजा सार्वजनिक गरे । यो प्रतिवेदन १२ वर्षपछि सार्वजनिक भएको हो ।
१ असार २०७९ देखि २०८० जेठसम्म गरिएको अध्ययनका लागि ९ हजार ६ सय घपरिवारबाट नमूना भरेर यो प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ ।
नेपालमा २०३४ सालबाट गरीबी सर्वेक्षणको काम सुरु भएको थियो । त्यसबेला ३६ प्रतिशत गरीबी थियो । २०४८ सालमा ४९ प्रतिशत गरीबी पुगेको थियो ।
लोडका हिसाबले यो सबैभन्दा ठूलो गणना मानिन्छ । कार्यालयले गरीबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो । अनलाइन खबर