काठमाडौं । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले शतक बनाएपछि नेपालले तेस्रो खेल ९ विकेटले जित्दै क्यानडाविरुद्ध ओडीआई सिरिज क्लिनस्विप गरेको छ ।
सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गर्यो ।
अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।
अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।
ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो ।
निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।
हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।
विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।
डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।
नेपालले आजको खेलमा ४ परिवर्तन गरेको थियो । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किए । हेमन्तले डेब्यु गरे ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भीम सार्की
बेन्च : सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त
(हाम्रो खेलकुद)