काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेसको धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।
सोमवार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डबाट यस्तो आशय प्रकट भएको एक केन्द्रीय सदस्यले बताए । ती नेताका अनुसार प्रचण्डले कोशीमा कांग्रेसले दिएको धोकाले पार्टीलाई गम्भीर बनाएको र गठबन्धनबारे पुनर्विचार गर्ने ठाउँमा पुर्याएको बताएका हुन् ।
बैठकमा प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाबारे गम्भीर छलफल भइरहेको जानकारी गराएका थिए । कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो ।
तर, मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।
त्यस्तै, गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् । अनलाइन खबर