२०८३ जेष्ठ २९ शुक्रबार

गुल्मले गर्यो सीमा समस्याबारे सरोकारवालासँग छलफल

काँकरभिट्टा । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाले सोमवार सरोकारवालाहरुसँग सीमाका समस्याबारे छलफल गरेको छ ।

काँकरभिट्टास्थित गुल्म परिसरमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी, सीमा स्तम्भ र नागरिकका समस्यासँगै सूचना आदान–प्रदानबारे छलफल भएको थियो ।

वक्ताहरुले अवैध सामान नियन्त्रण गर्ने निहूँमा कहिलेकाहीं सुरक्षा निकायबाटै साना व्यापारी र घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको घटना स्मरण गराए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठले सीमा नाकाबाट हुन सक्ने अवैध गतिविधि निस्तेज पार्न शून्य सहनशीलताको सिद्धान्त बमोजिम अघि बढ्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

भन्सारले राजस्व संकलनमा लिएको लक्ष्य पूरा गर्न प्रयत्नशील रहेको जानकारी गराउँदै उनले जाँच र निगरानीका लागि परिचालन गरिएको नियमित गस्तीलाई अझ प्रभावकारी बनाइने बताए ।

व्यवसायीहरुले भन्सार छलेर अवैध बाटोबाट सामान भित्र्याउँदा राजस्व संकलन प्रभावित बन्ने गरेको उल्लेख गर्दै गुल्मपति श्रेष्ठले भने, ‘खुला सीमाको फाइदा उठाउने गरिएको छ, यस्ता गतिविधि रोक्न आम नागरिकको पनि उत्तीकै सहयोगको खाँचो छ ।’

त्यसक्रममा गुल्मका सशस्त्र प्रहरी निरीक्षक नगेन्द्र खत्री, काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, पत्रकार एवं मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सन्तोष खवास, पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख एवं पशु चिकित्सक मुकेश सिंह, स्थानीय विनोद तामाङ, विष्णु तिम्सिनालगायत सहभागी थिए ।

२०८० माघ २९, सोमबार प्रकाशित 0 Minutes 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।