२०८१ माघ ६ आईतवार

भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट

विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ ।

सुनसरीबाट प्रहरीले एक हजार दरका १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतवार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका उनले बताए । सवारीसाधन जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो ।

शंकास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । अनलाइन खबर

२०८० माघ २९, सोमबार प्रकाशित 0 Minutes 179 Views

ताजा समाचार