२०८१ फाल्गुन ३ शनिबार

महिलाको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकस्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार शनिवार साँझ २८ वर्षीया प्रमिला दमाईको शव भेटिएको थियो ।

कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थल पुगेको थियो ।

त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्थामा घटना शंकास्पद देखिएको थियो । शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए ।

त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् । उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । यी सबै विषयलाई जोडेर सोधपुछ र थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो । अनलाइन खबर

२०८० माघ २८, आईतवार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार