२०८१ मंसिर २६ बुधबार

अर्थमन्त्री डा महतले भने, ‘राजस्व वृद्धिमा ध्यान दिनूस्’

काँकरभिट्टा । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको मुख्य स्रोत भन्सार भएकाले राजस्व वृद्धितर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

आइतवार मेची भन्सार कार्यालयमा भएको कार्यक्रममा उनले राजस्व संकलनमा उच्च लक्ष्य लिएर शतप्रतिशत असुली गर्नतर्फ लागिपर्न निर्देशन दिएका हुन् । डा महतले भने, ‘उठेको राजस्व विकास निर्माणलगायतमा खर्च हुन्छ, घट्यो भने खर्च गर्न सकिँदैन, आम्दानी नभए खर्च सम्भव छैन ।’

भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको एकल प्रयासले मात्र अवैध चोरी पैठारी नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय सरकारको समेत सहयोग हुनुपर्नेमा डा महतले जोड दिए ।

“गैरकानूनी ओहोरदोहोरलाई निरुत्साहित र कानूनी ओहोरदोहोरलाई प्रोत्साहित गर्नुपर्छ, यसो गर्दा कानूनी काम गर्नेहरुलाई प्रोत्साहन मिल्छ, होइन भने कानूनी काम गर्नेहरुलाई महँगो पर्न जान्छ ।”, उनले भने ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै डा महतले दैनिक उपभोग्य वस्तु प्रतिष्पर्धि बन्नुपर्ने धारणा राखे । उत्पादन बढाउन प्रविधि र उत्पादन गर्ने तौरतरिकाबारे सोच्नु पर्ने बताउँदै उनले अनुदानलगायतका प्रभावकारी कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

“भारतबाट आयात हुने प्याज, स्याउलगायत दैनिक उपभोग्य वस्तुमा भन्सार दर बढाउनुपर्छ, जसका कारण स्वदेशी कृषिजन्य वस्तुले बजार पाउँछन् र हामी आत्मनिर्भर हुन्छौं”, डा महतले भने, हामी आलुमा आत्मनिर्भर बन्दै गएका छौं, अब प्याजमा पनि हुनुपर्छ ।”

आयात घटाउने र निर्यात बढाउने उद्देश्यले बंगलादेशले आयात गर्ने वस्तुमा भन्सार दर उच्च बनाएको उल्लेख गर्दै उनले त्यसतर्फ ध्यान दिइनुपर्ने बताए ।

“रक्सी कडाईका साथ पूर्णरुपमा निरुत्साहित हुनुपर्छ, कानूनी प्रक्रिया पूरा गरेका भारतीय सवारी साधनले मात्र प्रवेश पाउनुपर्छ, नेपालीले भारतीय गाडी राखे नियन्त्रणमा लिइनुपर्छ ।”, सम्बद्ध निकायलाई निर्देशन दिँदै डा महतले भने ।

त्यसक्रममा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले अघिल्लो आ.व.२०७८/०७९, गत आ.व.२०७९/०८० र चालु आ.व. २०८०/०८१ को माघसम्म राजस्व संकलनको लक्ष्य र असुलीको अवस्था अवगत गराए ।

उनले काँकरभिट्टा नाकाबाट आयात र निर्यात भएकामध्ये १० वटा मुख्य वस्तुहरु, पैठारीतर्फ महसुल घटेकामध्ये १० वटा मुख्य वस्तुहरु, पुस अन्त्यसम्मको मुद्दाको विवरण, भर्खरै पक्राउ गरिएका मालवस्तुहरुलगायतको विवरण प्रस्तुत गरे ।

रेग्मीले लक्ष्य अनुरुप राजस्व संकलन नहुनुको कारण, लक्ष्य हासिल गर्न लिइएको रणनीति, सम्भावना र चूनौति, समस्याजस्ता विषयबारे अर्थमन्त्री डा महतलाई जानकारी गराए ।

मन्त्री महतसमक्ष उनले दक्ष जनशक्तिको आपूर्ति, नाकालाई कोरोनाअघिकै लयमा फर्काउन पहल, बजेट निकासालगायत विविध विषयको अपेक्षा राखे ।

संविधानसभा सदस्य उषा गुरुङले अर्थमन्त्री महतलाई पूर्वी नाकाबाट भूटान र तेस्रो मुलुकका नागरिक नेपाल आउन भारतीय अध्यागमनले अवरोध गरेपछि पर्यटन व्यवसायीहरु मारमा परेको अवगत गराइन् ।

पर्यटन व्यवसायीसमेत रहेकी गुरुङले पूर्वी नाकालाई कोरोनाअघिकै लयमा फर्काउन अविलम्ब आवश्यक पहल गर्न अर्थमन्त्री महतलाई आग्रह गरिन् । देशका ७ वटा प्रदेशमध्ये कोशी प्रदेश पर्यटकको रोजाइमा पर्ने भएकाले पर्यटक अभावमा हजारौं व्यवसायीहरु पलायन हुने अवस्था आएको उनको भनाइ थियो ।

बाह्य पर्यटक भित्रिन नपाउँदा देशले आर्थिक रुपमा ठूलो क्षति व्यहोरेको अवगत गराउँदै गुरुङले संघीय सरकारको पहलमा नाकामा उत्पन्न अवरोध खुलाउनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले पानीको समस्या समाधानका लागि सहलगानी आयोजनामार्फत प्रस्तावना अर्थ मन्त्रालयमा पेश गरिएको बताए ।

आयोजनाका लागि आवश्यक २० करोडमध्ये ३ करोड रुपैयाँ छुट्टिएको अवगत गराउँदै उनले यहि आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि बढ्ने गरी स्रोत सुनिश्चिताका लागि पहल गरिदिन अर्थमन्त्री डा महतलाई आग्रह गरे ।

त्यस्तै, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोखरेलले उपभोक्ता संख्या बढेसँगै आवश्यक पानी पुर्याउन सहलगानीको आयोजना अन्तिम चरणमा पुगेको अर्थमन्त्री डा महतलाई जानकारी गराए ।

१४ करोडको आयोजनामा संस्थाले ५ प्रतिशत रकम जम्मा गरेको भौचर अर्थमन्त्रालयमा पेश गरेको अवगत गराउँदै पोखरेलले स्रोत सुनिश्चितताका लागि पहल गरिदिन अर्थमन्त्री डा महतलाई आग्रह गरे ।

त्यसैगरी, एशियन लुब्रिकेन्टस कम्पनी प्रालि धुलाबारीका सञ्चालक हरिप्रसाद कोइरालाले ४ वर्षअघि मेची भन्सारबाट कम्पनीको सामान आयातका क्रममा उत्पन्न समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्री डा महतसमक्ष आग्रह गरे ।

त्यसलगत्तै अर्थमन्त्री डा महतले प्रमुख भन्सार अधिकृत रेग्मीलाई उक्त समस्या तत्काल बुझेर समाधान गर्न निर्देशन दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमल आचार्य, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्ले, मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, नेपाली कांग्रेसका नेता प्रेम सम्बाहाम्फे, नेतृहरु राधा कार्की, बिटु गुरुङलगायतको उपस्थिति थियो ।

त्यसअघि अर्थमन्त्री डा. महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुल र भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका थिए ।

 

२०८० माघ २८, आईतवार प्रकाशित 1 Minute 231 Views

ताजा समाचार