
झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कोभिड–१९ पछि विभिन्न कठिनाई झेल्दै, पार लगाउँदै आएको यातायात क्षेत्रमा केही चूनौति थपिएको बताएका छन् ।
पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारण सभाको शुक्रवार उद्घाटन गर्दै उनले भने, ‘उत्पन्न चूनौतिलाई समय सापेक्ष परिस्कृत गर्दै अघि बढ्नुको विकल्प छैन ।’

सभाको उद्घाटन सत्रका प्रमुख अतिथि बुढाथोकीले यातायात क्षेत्र यात्रु वर्गलाई सुव्यवस्थित तरिकाले सेवा प्रवाह गर्दै आयआर्जन गर्ने पृथक प्रकृतिको व्यवसाय भएको चर्चा गरे ।
“यात्रुलाई सेवा दिएबापत निश्चित शुल्क लिने संस्था हो यो”, कोशी प्रदेशका पूर्व सांसद रहेका उनले भने, “सेवा प्रवाहको गुणस्तर, यात्रीलाई गन्तव्यमा पुर्याउने, चढाउने र ओराल्ने, यात्रु प्रतीक्षालय, बसपार्कजस्ता विषयमा सुधार गर्दै जानुपर्छ ।”
सभाको उद्घाटन सत्रका विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले प्रालिमा रुपान्तरण हुनुअघिको मेची बस व्यवसायी संघले देशकै एक नमूना संस्थाको रुपमा पहिचान स्थापित गरेको बताए ।
“व्यवसायी र मजदूरले सँगै हाँकेको यातायात संस्था भनेर विगतमा संघको चर्चा देशभर चल्थ्यो”, प्रालिका संरक्षकसमेत रहेका उनले भने, “प्रालिलाई नमूना र उदाहरणीय बनाउन पछिल्लो समय लागिपरेको छु ।”
त्यस्तै, काँकरभिट्टा बस टर्मिनल तथा प्यारिभिट्टा बस पार्क व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेले २०७५ सालमा सिण्डिकेट प्रथाको अन्त्य गर्ने भन्दै सरकारले ल्याएको नीतिले यातायात क्षेत्र ध्वस्त भएको बताए ।
पूर्वी नाकाको अस्तव्यस्तता, ट्राफिक जामलगायतले घट्न थालेका यात्रु अन्य नाका प्रयोग गर्न बाध्य भएका उल्लेख गर्दै उनले त्यसलाई व्यवस्थित गर्न सक्षम नेतृत्व प्रालिमा आउन आवश्यक रहेको धारणा राखे ।
उक्त समितिका सदस्य सचिव माधव अर्यालले कोरोनापछि देशभरको यातायात क्षेत्र अस्तव्यस्त बनेको चर्चा गर्दै यात्रु र व्यवसायीको हित गर्नेगरी समितिले तयार गरेको योजना कार्यान्वयनको चरणमा रहेको अवगत गराए ।
यस्तै, नेपाल यातायात मजदूर संघका केन्द्रीय सल्लाहकार बसन्त तिवारी(बुद्ध)ले मेचीमा हुने यातायात व्यवस्थापनको सन्देश महाकालीमा प्रवाह हुने भन्दै कुशल नेतृत्व र योग्य कर्मचारी भए संस्थाले गति लिने बताए ।
यसैगरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष काँकरभिट्टाका अध्यक्ष मोहन रिजालले प्रालि देशका अन्य यातायात संघ–संस्था भन्दा पृथक भएको बताए । उनले प्रदेशभरका संघ–संस्थालाई एकीकृत गरी व्यवसायी, कर्मचारी र मजदूरको हितमा योजना ल्याउनसमेत आग्रह गरे ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मेचीनगरका अध्यक्ष राजकुमार सुवेदीले मुलुकभर सीमित संख्यामा रहेका संघलाई सरकारको पछिल्लो नीतिका कारण टुक्र्याएर प्रालि बनाइएको बताए ।
उनले छरपस्ट पारिएका प्रालिलाई एकीकृत गरी आफ्नो मातहतमा ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।
सो अवसरमा प्रालिका सल्लाहकार मोहनप्रकाश उप्रेती र सगरमाथा यातायात प्रालिका अध्यक्ष नविन कोइरालाले चुनावी साधारण सभा भए पनि सहमति ढंगले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले सांगठानीक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा स्वागत प्रालिका सञ्चालक दीपक तामाङ र सञ्चालन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले गरेका थिए ।
कनकाई नगरपालिकास्थित पर्यटकीयस्थल धनुषकोटीधाममा आयोजित सभाको बन्द सत्रले प्रालिको नयाँ नेतृत्व चयन गर्ने छ ।