![](https://janasamsad.com/wp-content/uploads/2024/02/jyalujni-1707026856.jpg)
एजेन्सी । युक्रेनले सैनिक प्रमुख भ्यालेरी ज्यालुज्नीलाई हटाउने भएको छ ।
उनलाई हटाउनेबारे युक्रेनले शुक्रवार अमेरिकालाई जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । हतियार खरिदमा सेनाले भ्रष्टाचार गरेको रिपोर्टहरू आउन थालेपछि सेना प्रमुख ज्यालुज्नी र राष्ट्रपति भोल्दोमिर जेलन्स्कीबीच टकराव बढेको थियो ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
ज्यालुज्नीलाई धेरै अगाडिदेखि नै सेना प्रमुखबाट हटाउनुपर्ने विषय उठेको थियो । अघिल्लो वर्ष रूसविरूद्ध आक्रमण गर्दा युक्रेनी भूमि रूसको नियन्त्रणबाट फिर्ता गर्न नसकेको भन्दै ज्यालुज्नीलाई हटाउनुपर्ने विषय उठेको थियो ।
पछिल्लो समय रूसविरूद्धको युद्धमा पाँच लाख सैनिक परिचालन गर्नुपर्ने ज्यालुज्नीको प्रस्तावमा राष्ट्रपति जेलन्स्की असहमत थिए । सेना प्रमुखसँग टकराव बढ्न थालेपछि उसलाई बर्खास्त गर्न लागिएकोबारे युक्रेनले अमेरिकालाई जानकारी दिएको हो ।
यसमा ह्वाइट हाउसले भने तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ । तर, युक्रेनी अधिकारीहरूले ज्यालुज्नीलाई हटाउने प्रस्तावमा अमेरिका सहमत भएको दाबी गरेका छन् । रूस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई समर्थन गर्दै आइरहेको छ ।
उसले युक्रेनलाई हतियारदेखि बजेटसमेत सहायता गर्दै आएको छ । पछिल्लो समय रिपब्लिकन सांसदहरूले युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायताबारे विचार गर्नुपर्ने बताउँदै आएका छन् । सेतोपाटी