२०८१ बैशाख १५ शनिबार

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ ।

प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस (फर्स्ट एड बक्स)मा निम्न केही महत्वपूर्ण औषधि हुनु जरुरी छ ।

पारासिटामोल

पारासिटामोल दुखाइ कम गर्ने र ज्वरो कम गर्ने औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोलका लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ ।

अमेरिकी मापदण्डअनुसार ३२५ मिलिग्रामदेखि ६५० मिलिग्रामसम्मको सिटामोलको डोज चारदेखि छ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिकाअनुसार ५०० मिलिग्राम पारासिटामोल ज्वरो आएको प्रत्येक ६-६ घण्टामा खान सकिन्छ ।

साना बालबालिकालाई पारासिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ । यदि बच्चालाई ज्वरो आएको छ र एक महिनाभन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलिग्राम पारासिटामोल चारदेखि ६ घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि आठ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

५०० मिलिग्रामको सिटामोल ४-५ घण्टाको अन्तरमा सामान्य दुखाइ र ज्वरो आउने बिरामीले खान सक्छन्, तर औषधि खाँदा केही खाएर मात्र खाएको राम्रो हुन्छ ।

आइबुप्रोफेन

आइबुप्रोफेन एक ननस्टेरोइडल एन्टिइन्फ्लेमेटरी औषधि हो । यसले ज्वरो, दुखाइ र सुन्निने समस्यामा कम गर्छ । यसले दुखाइको बेला शरीरमा निस्कने विशेष प्राकृतिक पदार्थ (प्रोस्टाग्ल्यान्डिन)को उत्पादनलाई रोकेर पीडा कम गर्छ ।

कडा टाउको दुखाइ, दाँत दुखाइ, मांसपेशी दुखाइ लगायत समस्यामा आइबुप्रोफेन खान सकिन्छ । यो औषधि चारदेखि ६ घण्टाको फरकमा केही खानेकुरा खाएपछि खान सकिन्छ । खालीपेटमा खाँदा ग्यास्ट्राइटिस हुन सक्ने सम्भावना बढी हुनसक्छ ।

यदि दम, रगतसम्बन्धी विकार, मुटुसम्बन्धी विकार, उच्च रक्तचाप वा आन्द्राको संक्रमण छ भने यो औषधि सेवन घातक हुनसक्छ । त्यसैले यी समस्या भएकाले चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ ।

एलर्जीको औषधि

कसैकसैलाई खानपानका कारण वा अन्य विभिन्न कारण शरीरमा एलर्जी हुने गर्छ । त्यसबेला तत्काल औषधि नभएमा समस्या निम्तिन सक्छ । त्यसैले अस्पताल पुग्नुभन्दा अगावै एलर्जीको औषधि खुवाउनुपर्छ ।

त्यस्तै एन्टिहिस्टामिन समूहमा पर्ने औषधिहरू जस्तै– सेट्रिजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनले एलर्जीलाई कम गर्ने र खुम्चिएका श्वासनलीलाई फुलाउने हुँदा धेरै आराम पुग्छ । कतिपय अवस्थामा जीवन बचाउनेसम्म हुन्छ । तर यस्ता औषधिको सेवन पनि चिकित्सकको परामर्शमा नै गर्नुपर्छ ।

अपचको औषधि ‘डाइजिन’

बासी खानेकुरा, चिल्लोयुक्त खानेकुरा वा बाहिरको खाना खाँदा पेट दुख्ने, वायु बन्ने, अपच हुने जस्ता धेरै समस्या निम्त्याउँछ, यसबाट राहत पाउन डाइजिन खान सकिन्छ । डाइजिन गुलाफी तरल वा चक्कीको रूपमा बजारमा आउँछ ।

समस्या भएपछि तत्काल राहत पाउन एक चक्की औषधि खान सकिन्छ । लामो समय चिकित्सकको सल्लाहबिना भने प्रयोग गर्नु हुँदैन । यस्ता औषधि प्रयोग गर्दा चिकित्सकको सुझावमा लिनु उपयुक्त हुन्छ ।

डाइजिनका साथै इनो, डाइजिन र पुदिनहरा जस्ता औषधि खान सकिन्छ । यस्ता औषधि पेटको समस्याबाट तुरुन्त राहत प्रदान गर्न यो उपयोगी हुनसक्छन् ।

हाइड्रोकर्टिसोन क्रिम वा मल्हम

हाइड्रोकोट्रिसोन मल्हम विभिन्न प्रकारका छाला संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ । यसले रातोपन, सुन्निने र चिलाउने जस्ता लक्षणलाई कम गर्छ । यसले संक्रमणको कारण हुने सूक्ष्मजीवहरूको वृद्धिलाई पनि रोक्छ ।

यो मल्हम बाहिरी प्रयोगको लागि मात्र हो । डाक्टरको सल्लाहमा मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ । औषधिको पातलो तह सफा र सुक्खा हातले छालाको प्रभावित क्षेत्रमा मात्र लगाउनुपर्छ ।

सामान्यतया यो एक सुरक्षित औषधि हो, तर पनि यसले प्रयोग गरेको ठाउँमा जलन, चिलाउने र रातो हुने जस्ता समस्या निम्त्याउन सक्छ । यसका साइड इफेक्टहरू सामान्य खालका हुन्छन् । गम्भीर साइड इफेक्ट धेरै विरलै हुन्छ । यदि शरिरमा डाबर आउने, चिलाउने, सास फेर्न गाह्रो हुने जस्ता कुनै पनि एलर्जी प्रतिक्रिया देखियो भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।

जीवनजल

दिनभरमा कम्तीमा तीन पटक पातलो दिसा लाग्ने अवस्था पखाला (डायरिया) हो । यो बेला शरीरमा रहेको तरल पदार्थको क्षति भई जलवियोजन हुनसक्छ । जलवियोजनबाट बच्नका लागि जीवनजल पिउन सकिन्छ ।

जीवनजल सानो आन्द्रामा अवशोषित भएर दिसाका माध्यमले शरीरबाट गुमेको पानी र इलेक्ट्रोलाइट (लवण पदार्थ)को कमीलाई पूर्ति गर्छ । झाडापखाला र हैजाको उपचारका लागि जीवनजल अमृत जल नै हो ।

एक लिटर उमालेर सेलाएको पानीमा एक प्याकेट जीवनजल मिसाएर पिउन सकिन्छ सामान्यतया एकपटक पातलो दिसा भएपछि एक पटकमा एक गिलास पिउन सकिन्छ । एक पटक बनाएको जीवनजल २४ घण्टा मात्र पिउन सकिन्छ । अनलाइन खबरबाट

२०८० माघ २४, बुधबार प्रकाशित 1 Minute 168 Views

ताजा समाचार