२०८१ मंसिर २६ बुधबार

यू–१९ साफ च्याम्पियनसिपः भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौँ – बंगलादेशमा जारी यू–१९ साफ च्यम्पियनसिपमा नेपाल भारतसँग ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

भारतलाई हराउनै पर्ने खेलमा नेपाल पराजित भएसँगै समूह चरणबाटै बाहिरियो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा लय गुमाउन पुग्दा ४ गोल खान पुगेको थियो।

नेपाललाई हराएसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतलाई अग्रता दिलाउने क्रममा नेहाले ५४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। नेहाले नै ८०औं मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा पाँच मिनेटपछि नै सुलाञ्जना राउलले तेस्रो गोल गर्दा भारत फराकिलो जिततर्फ अग्रसर भएको थियो। टिमका लागि चौथो गोल इन्जुरी समयमा सिन्डी कोल्नीले गरेकी थिइन्।

जितसँगै भारतले बंगलादेशविरुद्ध फाइनल भेट पक्का गरेको छ। बंगलादेशले आफ्नो पहिलो दुई खेलमा नेपाल र भारतमाथि जित निकाल्दै एक खेलअगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो। भारतको ३ खेलमा ६ अंक भएको छ। बंगलादेशको २ खेलमा ६ अंक रहेको छ। बंगलादेशले आज भुटानविरुद्ध खेल्दै छ। नेपालले भुटानलाई हराउँदै तीन अङ्क हात पारेको थियो।

भारतले पहिलो खेलमा भुटानमाथि १०–० को फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा बंगलादेशविरुद्ध १–० ले पराजित भएको थियो। यू–१९ साफ च्याम्पियनसिपको यो पाँचौं संस्करण हो। जसमा बंगलादेश ३ पटक च्याम्पियन बन्दा भारतले २ पटक उपाधि जितेको छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानमाथि १–० को जित निकाल्दा अन्तिम खेलमा भारतसँग ४–० ले हार्‍यो।

२०८० माघ २३, मंगलवार प्रकाशित 0 Minutes 138 Views

ताजा समाचार