२०८३ जेष्ठ २९ शुक्रबार

डिआइजी चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयद्वारा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरेको छ ।

राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जनाएको छ । डिआइजी चन्दले गत शुक्रवार राजीनामा दिएका थिए । उक्त राजीनामा पत्र मंगलवार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो ।

यसबीचमा डिआइजी चन्दले आइजिपी बसन्तबहादुर कुँवरसँग भेटेका थिए । कुँवर र चन्द ब्याची हुन् । आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए । साथै, एआइजीहरूले पनि डिआइजी चन्दलाई राजीनामाबारे पुनर्विचार गर्न सुझाव दिएका थिए ।

आइजिपी र एआइजीहरूले राजीनामा नदिन सुझाव दिएपछि डिआइजी चन्द बिदामा बसेका छन् । ‘उहाँ सात–आठ दिनका लागि बिदामा बस्नु भएको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘बिदा सकेपछि उहाँ जिम्मेवारीमा फर्कनुहुन्छ ।’

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी अधिकारीबीच कुटाकुट भएको घटनामा बनेको छानबिन समितिले प्रहरी अधिकारीलाई कारबाही सिफारिस गरेपछि डिआइजी चन्द असन्तुष्ट थिए । सेतोपाटी

२०८० माघ २२, सोमबार प्रकाशित 0 Minutes 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।